नागढुंगा सुरुङ एक महिनाभित्रै ‘ब्रेक थ्रु’, ३२ मिटर मात्र खन्न बाँकी

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ — एक महिनाभित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिने भएको छ । त्यहीअनुसार अहिले काम भइरहेको छ । अहिलेसम्म मुख्य सुरुङ २।६८८ किमिमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताए । ‘फागुन २३ मा ब्रेक थ्रु गर्ने गरी निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘बीचमा केही समस्या आएका थिए, तिनलाई समाधान गरेर काम अघि बढाइएको छ ।’
धादिङ र काठमाडौंतर्फ केही मुआब्जाका समस्या भए पनि त्यसलाई टुंग्याउने प्रक्रिया चलिरहेको उनको भनाइ छ । अहिलेसम्म २६३६ मिटर सुरुङ खन्ने काम सकिइसकेको छ । निर्माण सुरु भएको ५१ महिना बित्न लाग्दा समग्र आयोजनाको भौतिक प्रगति ६९.१५ प्रतिशत छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् । एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको आयोजनाले जनाएको छ । ‘ब्रेक थ्रु भनेको सुरुङ खन्ने काम मात्र सकिने हो,’ उनले भने, ‘फिनिसिङ गरेर सवारी सञ्चालनमा आउन थप एक वर्ष लाग्छ ।’

सुरु सम्झौताअनुसार यसको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि तीन महिना म्याद थप गर्दै ०८० साउन ४ सम्म पुर्‍याइएको थियो । यस अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । ‘यो समयभित्र प्रारम्भिक काम सकिए पनि सवारी सञ्चालनमा आउने गरी काम सकिनेछैन,’ प्रमुख श्रेष्ठले भने, ‘सुरुङबाट गाडी सञ्चालन गर्न ०८१ पुस । माघ नै पुग्नेछ ।’ यो सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन् । यो सुरुङबाट सवारी सञ्चालन गर्दा शुल्क लाग्नेछ । ‘त्यसका लागि कति शुल्क निर्धारण गर्ने भन्नेबारे तयारी भइरहेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘सुरुङबाट सवारी चलाउने बेलासम्म शुल्क निर्धारण भइसक्छ ।’

अहिले दुई सिफ्टमा काम भइरहेको छ । काठमाडौंको बलम्बुमा फ्लाई ओभर निर्माणस्थलमा पर्ने घर भत्काइएको छ । चर्किएका घरको स्थानान्तरण गरिएको उनको भनाइ छ । ‘धादिङतर्फ सुरुङको मुखमा पहिरो नजाओस् भनेर पर्खाल निर्माणको काम भइरहेको छ, जहाँ नाली निर्माणको काम पनि भएको छ,’ उनले भने, ‘जग्गा अधिग्रहणमा केहीकेही समस्या छ, त्यो समाधान गर्ने काम भइरहेको छ ।’ त्यस्तै पानीको मुहान सुकेका र सुरुङले भोलिका दिनमा असर गर्छरगर्दैन भन्ने सम्बन्धमा भौगर्भिक अध्ययनको काम पनि भइरहेको श्रेष्ठको भनाइ छ ।
आयोजना सुरु भएयता १४ अर्ब ६ करोड २ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । धादिङ र काठमाडौं दुवैतिर धमाधम काम भइरहेको बताइएको छ । समग्र सुरुङ खन्ने काम १ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो ।
२५५७ मिटर दूरी रहेको आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ । नेपालको पहिलो यातायात सुरुङ भएकाले निर्माणका क्रममा कुनै समस्या नआए अबको एक वर्षभित्र यातायात सञ्चालन गर्न कुनै समस्या नहुने आयोजनाले बताएको छ ।

काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा सुरुङ निर्माणको काम भइरहेको छ । यो सुरुङ सञ्चालनमा आएपछि नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यात्रुले ट्राफिक जामको सास्ती खेप्नुपर्ने छैन । सुरुङ बनेपछि साढे ७ किलोमिटर सडक छोटिने आयोजनाको भनाइ छ ।

०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।
साभारः कान्तिपुर दैनिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?