साहित्यकार लक्ष्मण थापाको कृति ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह पोखरामा सार्वजनिक गरिएको छ ।

लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे ।

कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

लघुकथा आकारका दृष्टिले सानो भएका कारणले मात्र नभई यसको क्षमताकै कारणले लोकप्रिय भएको मत राख्दै उनले विराट् विश्वलाई अटाउन सक्ने क्षमता लघुकथाले धारण गरेको भनाइ राखे ।

मान्छेभित्रको मान्छे गुण हराइरहेको परिवेशमा हरेक मान्छेले यो धर्तीमा जन्मेर मान्छे आवरणले मात्र मान्छे छु वा वास्तविक मान्छे नै हुँ भन्ने कुरा प्रत्येक मान्छेले सोच्नुपर्ने बेलामा कृति आएको सरुभक्तले बताए ।

कथाकार थापाले आफूलाई साथीहरूको सङ्गतले लेखक बनाएको बताए । यो कृति पनि साथीहरूकै प्रेरणाले ल्याएको भनाइ राखे ।

रोलाँ बाथको ‘डेथ अफ अथर’ को सिद्धान्तलाई आफूले स्वीकार गरेको बताउँदै उनले कृतिको जिम्मेवारी पाठकमा हस्तान्तरण भइसकेको बताए ।

माया पब्लिकेसनले प्रकाशन गरेको मान्छे हराएको मान्छेमा ७० वटा लघुकथा समेटिएका छन् ।

लघुकथा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापा छोरेपाटन माविका पूर्व प्रधानाध्यापक तथा निवृत्त शिक्षकसमेत हुन् ।

उनी नवनीत साहित्य सागरका पूर्व अध्यक्ष तथा अक्षरयात्राका परिकल्पनाकारमध्ये एक हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्