अन्तिम चिट्ठी

बाबुराम नेपाली
  • ख-
  • ख+

आमा ! तिम्रो शरीरमा मेरो आत्माको प्रवेश हुँदा तिमीलाई विशेष आनन्दको अनुभुति भएको थियो होला । तिमीलाई धन्यवाद । मलाई नौ महिनासम्म एक आत्मा एक ज्यान बनेर पाल्यौ । जुन दिन म जमिनमा ओर्लेँ त्यस दिन देखि नै तिम्रो न्यानो काखले मलाई सुरक्षित बनायौ । तिम्रो काखमा भएपछि संसारका जुनसुकै खतराबाट म आफुलाई सुरक्षित पाउँथें। जब मेरा तोते बोलीहरु तिम्रा कामसम्म पुग्थे त्यतिबेला तिम्रो अनुहारमा आउने चमकको म कहिल्यै वर्णन गर्न सक्दिन । जब म दोहोरो कुरा गर्न सक्ने भएँ तब देखि नै तिम्रो अनुहारको चमक फिका हुँदै गयो । मेरा बालसुलभ प्रश्नका जवाफरु तिखा र रुखा हुँदै गयो । मैले संसारको सबैभन्दा सुरक्षित ठानेको तिम्रो काख मक्किएको जिर्ण घरको भित्तो जस्तो लाग्न थाल्यो । त्यो घरको छानो भएर ओत दिने मेरो बुबा बिस्तारै खस्किन थालेका थिए । त्यो घर जतिसुकै बेला ढल्न सक्थ्यो र मलाई च्यापेर मार्न सक्थ्यो । मेरो अन्य कुनै बिकल्प पनि थिएन । न त गारोले छानो थाम्न चाहन्थ्यो न त छानोले घर ढाँक्न चाहन्थ्यो । तिमीहरु दुइजनाको व्यक्तिगत ईगोको प्रत्यक्ष मारमा म परेको थिएँ । मलाई स्रुरक्षा चाहिन्छ भन्ने चेत न तिमीमा थियो न त बुबामा नै। मैले संसारमा सबैभन्दा सुरक्षित ठानेको घर गर्ल्याम्म ढल्यो । तिमी एकातिर उछिट्टियौ बुबाअर्कोतिर उछिट्टिए म रक्तमुछेल अधकल्चो भएर बाँच्नु पर्‍यो । म न त तिम्रो काखमा अटाएँ न त बुबाको काँधमा । तिमीहरुले दुइतिरबाट फालेको रोटीका टुक्राहरु टिप्दै भक्कानिँदै निलेर बाल्यकाल घिस्रें । त्यो घिस्रयाई कति दर्दनाक थियो भन्ने कुरा न तिमीले बुझ्यौ न त बुबाले नै बुझे । तिमीहरुले नै नबुझेको दर्द अन्य सहायात्रीले बुझ्न सक्ने कुरै भएन ।
जब किशोरावस्थाको पहिलो खुड्किलो टेकेँ मलाई तिमीहरुको सारै याद आउँथ्यो । सबैजना साथीहरुका आमाबुबा निरन्तर भेट्न आउँथे , बिदा हुँदा घर लैजान्थे । म दिनरात तिम्रै बाटो हेर्थें , तिमी कहिल्यै आइनौ ? तिमीलाई मेरो याद कत्तिपनि आएन आमा ? तिम्रो अनुहार हेर्न बेचैन आँखा मेरा मात्रै थिए ? तिम्रो आँखाले मलाई कहिल्यै खोजेन आमा ? तिमी त मलाई मुटुको टुक्रा भन्थ्यौ । मुटुको टुक्रा त छातीभित्र हुन्छ नि , होइन र आमा ? वार्डेनको मोबाइलमा घण्टी बज्दा तिम्रै कल हो कि जस्तो लाग्थ्यो । राति धेरै बेरसम्म निन्द्रा लाग्थेन । जब निदाउन पुग्थेँ तिमीले बोलाएजस्तो लाग्थ्यो । त्यसपछि झन् निदाउन सक्थिन । ऐंठन हुन्थ्यो आमा ! मलाई ऐँठन हुँदा झकुझक्याएरु बिउँझाइदिने कोही थिएन । यो कोठा मलाई भुतघर जस्तै लाग्थ्यो । म डराएँ, आत्तिएँ , मैले सहनै सकिन आमा । म गए ल ।
तिम्री छोरी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्