अनुप प्रकाश, पोखरा । लाखौं रकम तिराएर नेपाली युवकहरुलाई चोरबाटो युरोप लगेका एक व्यवसायीले त्यहाँ उनीहरुको बिचल्ली पारेका छन् । अष्ट्रियाको साल्जबर्ग नगरमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका राजकुमार उपाध्याय ‘पण्डित’ले भारतको बाटो हुँदै नेपाली युवकलाई त्यहाँ लैजाने गरेका छन् ।
अष्ट्रियाको कम्पनीमा कामदार भिषामा लगेर काम लगाउने भनेर ती व्यवसायीले मोटो रकम असुल्ने तर केही दिन पछि निकालेर उनीहरुलाई विचल्लीमा पार्ने गरेका हुन् ।
१४ लाख ४० हजारको दरले रकम तिरेर भारतको नयाँ दिल्लीबाट अष्ट्रिया उडाइएका गण्डकी प्रदेशका चार जना नेपाली युवकहरु त्यहाँ बिचल्लीमा परेपछि यसको खुलासा भएको हो । युरोपबाट सर्वज्योतिसँग टेलिफोन सम्पर्कमा आएका ती नेपाली युवकहरुले उनीहरुलाई युरोप लैजानु अगाडि पोखरा र काठमाण्डौंमा रहेका रियल स्टेट, आइटी र अन्य कम्पनीका बैंक खातामा रकम हाल्न लगाएको बताएका छन् । उनीहरुले गत मे महिनामा रकम बैंकमा जम्मा गरेका हुन् । त्यहाँ समस्यामा परेका उनीहरुकाे नाम हामीले गाेप्य राखेका छाै ।
ती युवकहरुलाई कंगारु रियल स्टेट प्रालिको कुमारी बैंकको खाता नं १७५०२९४४६५७०००२ मा विजनेश भनेर १४ लाख ४० हजार रुपैयाँ रकम हाल्न लगाइएको छ । एएण्डआर सोलुशनको सिद्धार्थ बैंकको खाता नं ००११५३२६६४६ मा लोन रिर्टन अर्थात ऋण रकम फिर्ता भनेर १४ लाख ४० हजार रकम जम्मा गर्न लगाइएको छ । हिमालयन ट्रेर्डस नामक कम्पनीमा पनि १४ लाख ४९ हजार रुपैयाँ राख्न भने पछि जम्मा गरिएको पिडीत मध्येका एक युवकले हामीसँग टेलिफोनमा बताएका छन् ।
चारै जनासँग ठूलाे रकम लिँदा शंकास्पद देखिने भएकाेले विभिन्न कम्पनीका बैंक खाताहरु प्रयोग गरिएको पाइएकाे छ । हामीलाई प्राप्त डकुमेण्ट अनुसार ती कम्पनीले गर्ने कारोबार समेत शंकास्पद छ । बैंक खाता प्रयोग गरिएका कम्पनीहरु र अष्ट्रियाका व्यवसायी पण्डितवीचको सम्बन्ध समेत प्रष्ट छैन । राजस्व छलि गरी युवकहरु युराेप लैजाने क्रममा माेटाे रकम जम्मा गर्न उनले ती कम्पनीको बैंक खाता प्रयोग गरेको देखिन्छ । जवकी पोखरामा बस्दै आएका ती युवकहरुले यी कम्पनीहरुसँग लाखौं रकम बराबरको कारोबार वा सापटी लिनु पर्ने कुनै प्रयोजन समेत देखिन्न । व्यवसायी पण्डितले नै ती कम्पनीका खाताहरुमा रकम जम्मा गर्न विवरण दिएको पनि उनीहरुले बताएका छन् ।
कामबाट निकालेर बिचल्लीमा परेका नेपाली युवकका अनुसार उनीहरुलाई नयाँ दिल्लीबाट भियना हुँदै साल्जवर्ग लगिएको थियो । उनीहरुको साथमा अर्का एक जना भारतीय नागरिक पनि थिए । हालसालै युरोप लगिएका यी पाँच जनाको टोलीलाई युरोप लैजान पण्डित स्वयम् भारत पुगेका थिए । ‘राजकुमार उपाध्यायले अष्ट्रियाको खेती कम्पनी जेमुज क्रिस्टोफ एप्पलरमा सिजनको ९ महिना काम गर्ने गरी मासिक एक हजार पाँच सय युरो तलब भनेर ल्याउनु भएको हो ।’ ती युवकले बताए । नयाँ दिल्लीबाट अष्ट्रिया उड्नु अगाडिसम्म युवकहरुका पासपोर्ट र कागजपत्र समेत पण्डितले कब्जामा राखेका थिए । उनले नयाँ दिल्लीमा एम्बेसीसँग मिलोमतो गरेर ती युवकहरुको पासपोर्ट आँफै बुझेका थिए ।
त्यसैगरी व्यवसायी पण्डितले नेपाली युवकहरुसँग युरोप लैजान २० लाख रुपैयाँसम्म लिने गरेको बताइन्छ । आफन्त र भारतीय गिरोहसँगको मिलोमतोमा व्यवसायी पण्डितले सिजनल भिसा भन्दै कामदारका रुपमा नेपाली युवकहरुलाई नयाँ दिल्लीबाट लगेका हुन् । कामदार भिसामा भनेर लगिए पनि नेपाली युवकहरुलाई त्यहाँ छोटो समय काम गराएर निकालिएकाे हाे । युवकहरुले सहमतिमा काम छोडेको कागजमा जवर्जस्ती कागज समेत गराउने गरिएको स्रोतकाे भनाइ छ ।
एप्पलर कम्पनीसँगको मिलोमतोमा कामदार भिषामा मानिस ओसार्ने तर त्यहाँ लगेर कामबाट भने एक दुई साताभित्रै निकाल्ने गरेका छन् । यसले नेपाली युवकहरुको लाखौं रकम मात्र गुम्ने नभइ उनीहरुले मानसिक समस्या समेत भोग्न पर्ने अवस्था बनेको छ ।
नेपालमा कामदार भिसामार्फत जाँदा मोटो रकम लिन नमिल्ने भएपछि उनले नयाँ दिल्लीबाटै चोरबाटो प्रयोग गर्ने गरेको स्रोतले जानकारी दिएको छ । राज्यका निकायको आँखा छल्न र राजश्व छलि गरी गैरकानुनी रुपमा रकम कमाउने उद्देश्यले यस्तो धन्दा हुने गर्छ । काठमाण्डौंमै भिएफएसमा नगरी भारतको मुम्बईबाट भिसा निवेदन दिन लगाएर अनावश्यक खर्च समेत गराएको बताइन्छ ।
पण्डितकाे अष्ट्रियाको साल्जबर्गमा सुर्य रेष्टुरेण्ट छ । उनी एनआरएनए अष्ट्रियाको वर्ष २०१९–२०२१ को आइसिसी मेम्बर पनि बनेका थिए । यसबारे प्रतिक्रिया लिन हामीले उनीसँग ह्वाट्स एपमा पटक पटक सम्पर्कको प्रयास गरेपनि सफल हुन सकेन । कामदारका रुपमा युरोप लगिएका ती चार युवकले उनीसँग विचल्लीमा नपारिदिन र काममा लगाइदिन पटक पटक आग्रह गरे पनि वेवास्ता गरेको बताएका छन् ।
नयाँ दिल्लीमा गिरोहमार्फत उडाइने भएपछि त्यसरी विदेसिएका नेपालीको रेर्कड सरकारसँग हुँदैन । जसको कारण विदेशमा समस्यामा पर्दा समयमा नै उनीहरुको उद्दार समेत हुन सक्दैन। आप्रवासी नेपालीका विभिन्न संघसंस्थाहरुले समेत यसबारे प्रभावकारी ढंगले सचेतना फैलाउन सक्दैनन् । मोटो रकम लिएर नेपाली युवकहरुलाई नयाँ दिल्लीबाट उडाएर युरोपका विभिन्न देश लैजाँदा समस्या झन बढ्दै गएको छ ।