युवा संघमा अध्यक्षका ५ दावेदार कृष्णहरि के.सी. को बलियो सम्भावनाः थेवेको दोहोरिने चाहना

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा आयोजना हुँदैछ ।
देशभरिबाट १ हजार ९०० प्रतिनिधिले भाग लिने उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । पार्टीले जनसंगठनका केन्द्रीय नेतृत्वलाई संख्यात्मक दृष्टिले छरितो बनाएपछि युवा संघको आगामी केन्द्रीय कमिटी १५१ सदस्यीयमा सीमित हुँदैछ । त्यसभित्र जम्मा ९ पदाधिकारी चयन गर्नुपर्नेछ ।
अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३३९ सदस्यीय छ । त्यसैले अहिले भएका केन्द्रीय पदाधिकारी र सदस्यबाट महाधिवेशनले १८८ जनालाई बिदा गर्नुपर्ने भएको छ । त्यसभित्र नयाँ सदस्य केन्द्रीय कमिटीमा आउन चाहन्छन् ।
पार्टीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको संख्या घटाए पनि आयोग, विभाग र प्रदेशका हकमा विद्यमान व्यवस्था नै कायम रहने संगठनका कार्यालय प्रमुख कृष्णदत्त जैसीले बताए ।
विद्यमान व्यवस्थाअनुसार संघका ३५ वटा केन्द्रीय विभाग रहनेछन् । निर्वाचन, अनुशासन र लेखासहित ३ आयोग यथावत रहने भएको छ । ५१ सदस्यीय विज्ञ युवा परिषद् पनि कायमै राखिएको कार्यालय प्रमुख जैसीले बताए ।
संघका सात प्रदेश कमिटीसहित आठौं प्रदेशका रूपमा रहेको विशेष प्रदेशअन्तर्गत ७४ वटा अन्तरजिल्ला पनि कायमै रहने भएको छ । त्यसैले युवा संघको परिभाषित केन्द्रीय कमिटी १५१ सदस्यीय भए पनि कन्द्रीय नेतृत्वसरह मानिने विभाग, आयोग, परिषद् र प्रदेशबाट योग्य युवालाई समेटिने भएको छ । अन्तरजिल्ला कमिटीले जिल्ला कमिटीसरहको हैसियत राख्छ ।
महाधिवेशनमा भाग लिने १ हजार ८३५ प्रतिनिधिमध्ये केन्द्रीय कमिटी, आयोग, विभाग, परिषद्का सदस्यहरू स्वतः आयोजक हुने कार्यालय प्रमुख जैसी बताउँछन् । उनका अनुसार १ देखि ४ वटा निर्वाचन क्षेत्र भएको जिल्लाबाट १ महिला अनिवार्यसहित ४ जना प्रतिनिधि चयन हुन्छन् । ५ वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट २ महिलासहित ५ जना प्रतिनिधिको व्यवस्था छ । प्रत्येक गाउँ र नगरपालिकाबाट १(१ जना, उपमहानगरपालिकाबाट १ पुरुष र १ महिलासहित २ जना र महानगरपालिकाबाट १ महिला अनिवार्यसहित ३ जनाको प्रतिनिधित्व हुन्छ ।

अध्यक्षका आकांक्षी पाँच, थेबेलाई रोक्न सबै पूर्वअध्यक्ष एक
वर्तमान अध्यक्ष क्षितिज थेबेले दोस्रो कार्यकालका निम्ति पनि अध्यक्षको आकांक्षा राख्दा उक्त पदका निम्ति जम्मा आकांक्षी संख्या ५ पुग्नेछ । २०७९ चैत २७(२९ मा नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनबाट थेबे अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।
थेबेले आफ्नो कार्यकालमा केपी ओली कप फुटबल, युवा महोत्सव जस्ता ठूला कार्यक्रम आयोजना गरेकाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको मन जितेका छन् । उनले अध्यक्ष दोहोरिन चाहँदा अरु दाबेदारलाई कठिन हुने अनुमान छ ।
यद्यपि थेबे स्वयंले पार्टीले आवश्यकता महसुस गरे दोहोरिने, अन्यथा बाहिरिने बताउँदै आएका छन् । सार्वजनिक रूपमै उनले आफू फेरि अध्यक्ष बन्न नचाहेको बताएका छन् । उनले उम्मेदवारी घोषणा वा आकांक्षा व्यक्त नगरे पनि उनी पुनः अध्यक्ष हुने गरी अगाडि बढ्ने अवस्था आएमा रोक्न पूर्वअध्यक्ष एक भएको चर्चा युवा संघमा छ ।
युवा संघ स्रोतका अनुसार थेबे दोस्रो कालका लागि अध्यक्ष हुँदा युवा संघको नाममा उनले एकछत्र उपस्थिति जनाउने र अहिलेसम्म महेश बस्नेतले कायम राखेको वर्चस्वमाथि हुने कारण उनलाई रोक्न पूर्वअध्यक्षबीच मतैक्यता भएको बताइन्छ ।
पूर्वअध्यक्षहरू महेश बस्नेत, किरण पौडेल, निरुदेवी पाल, राजीव पहारी, रमेश पौडेललगायत थेबेबाहेकबाट अध्यक्षको खोजी हुनुपर्ने पक्षमा छन् ।
युवा संघ अध्यक्ष थेबे भने आफू नयाँ नेतृत्वलाई संगठन हस्तान्तरण गर्न तयार रहेको बताउँछन्, तर पार्टीभन्दा बाहिर गएर संगठन नचल्ने भएकाले बृहत छलफलमा रहेको उनको भनाइ छ ।
थेबेले भने, ‘हामी पार्टी नेतृत्व र युवा संघ नेतृत्वसँग सल्लाह गरेर सर्वसम्मत नेतृत्व चयन गर्न बृहत छलफलमा छौं । मेरो चाहना नयाँलाई ल्याउने नै हो, तर युवा आन्दोलनलाई व्यवस्थित गर्त पार्टीले सर्वसम्मत नेतृत्व चयनको पहल गर्नेछ । मेरो प्रयास पनि पार्टीको लाइनमा संगठनमा कुशल नेतृत्व सर्वसम्मत रूपमा चयन गराउने हो ।
२०४७ सालमा स्थापना भएको तत्कालिन प्ररायुसंघका संस्थापक अध्यक्ष वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र त्यसपछिका अध्यक्ष केशव स्थापित हुन् । यी दुबैले लामो समयसम्म युवा संघमा आफ्नो वर्चस्व स्थापित गरे ।
ओली र स्थापितपछि युवा संघमा लामो समय वर्चस्व स्थापित गर्ने नेताका रूपमा महेश बस्नेत रहेका छन्, तर थेबे पुनः अध्यक्ष हुने कुराले युवा संघमा उनलाई रोक्न खोज्ने शक्ति पनि बलियो बनेको छ ।
आफूपछि बस्नेतले अहिलेसम्म आफूले चाहेका व्यक्तिलाई क्रमशः अध्यक्ष बनाउँदै आए । थेबे पनि उनको चाहनाअन्तर्गतकै अध्यक्ष त थिए, तर बस्नेतले अहिले नयाँ अनुहार खोजेको चर्चा छ ।
यद्यपि थेबेले सर्वसम्मत हुने अवस्थाका लागि मात्रै अध्यक्षको दाबी गरेका हुन् । चुनाव हुने स्थिति भएमा उनले अध्यक्षका अर्का दावेदार महाराज गुरुङलाई समर्थन गर्ने सम्भावना रहेको युवा संघका नेताहरू बताउँछन् ।
गुरुङ दोलखाका एमाले नेता पार्वत गुरुङका भाञ्जा हुन् । अध्यक्षका अर्का दावेदार वर्तमान महासचिव सुमन पुरी पनि हुन् । उनी लुम्बिनीका एमाले नेता लीला गिरीका भाञ्जा हुन् ।
पार्टीले सर्वसम्मत अध्यक्ष चयनको विधि अवलम्बन गरेमा नेताको रोजाइमा को पर्छ अहिले यो पेचिलो प्रश्न बनेछ । अध्यक्ष पदका लागि हाल प्रवक्तासमेत रहेका कृष्णहरि केसी र प्रकाश गौतमको पनि सशक्त दाबी छ । सर्वसम्मतको प्रयास गरिँदा कृष्णहरि केसी नयाँ अध्यक्ष बन्न सक्ने बलियो सम्भावना रहेको छ ।

महासचिवमा ७ को दाबी
युवा संघको महासचिवका लागि वर्तमान उपमहासचिव राजन थापा र ५ सचिवसहित ७ जनाले दाबी गरिरहेका छन् ।
दावेदारमध्ये हालका सचिव निरोज पौडेल, कुबेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं र पर्वत भण्डारीले महासचिवकै लागि दाबी गरेका छन् । हालका उपमहासचिव थापा युवा संघको ४० वर्षको उमेर हदबन्दी पार गर्न लागेका कारण उनलाई पार्टी जिम्मेवारीमा पठाउनुपर्ने सचिव टोलीको माग रहँदै आएको छ, तर थापाले आफ्नो दाबी अन्तिमसम्म कायमै रहने र निर्वाचन भएमा उम्मेदवारी दिने बताएका छन् ।
नृपाल प्रेसको सहयोगमा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?