काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले सरकारको वित्तीय अराजकता र अव्यवस्थित कार्यशैलीले मौद्रिक नीतिलाई निष्प्रभावी बनाउँदै लगेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै उनले बजेट निर्माणमा देखाइने अपारदर्शी प्रवृत्तिको अन्त्य नभएसम्म राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले मात्र अर्थतन्त्रलाई सही दिशा दिन नसक्ने तर्क गरे। ड। वाग्लेले वित्तीय अनुशासन बिना मौद्रिक नीतिका उपकरणहरू कमजोर हुने बताए।
‘एकातिर सरकार बजेट निर्माण गर्दा मध्यरातमा मनलाग्दी योजना थपेर वित्तीय प्रणालीमाथि नै प्रश्न उठाउँछ, अर्कोतिर हामी राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट चमत्कारको आशा गर्छौँ,‘ उनले भने, ‘जबसम्म सरकारको खर्च गर्ने र योजना बनाउने तरिका पारदर्शी र तथ्यमा आधारित हुँदैन, तबसम्म मौद्रिक नीतिले तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रणका लागि गर्ने प्रयास सफल हुन सक्दैन।’
उनले मध्यरातमा योजना थप्ने प्रवृत्तिले अनावश्यक दायित्व सिर्जना गर्ने र त्यसको सोझो असर सरकारी खर्च, राजस्व परिचालन र अन्ततः समग्र मौद्रिक स्थायित्वमा पर्ने बताए। ‘यस्तो अपारदर्शी कार्यले अर्थतन्त्रमा अनिश्चितता बढाउँछ, जसले गर्दा लगानीको वातावरण बिग्रन्छ र मौद्रिक नीतिले निजी क्षेत्रलाई प्रोत्साहन गर्न ल्याएका योजनाहरू समेत असफल हुन्छन्,’ डा. वाग्लेले भने।
उनले वित्तीय र मौद्रिक नीतिबिच गहिरो समन्वय हुनुपर्नेमा जोड दिए । उनले त्यसको लागि पहिलो सर्त सरकारले वित्तीय अनुशासन कायम गर्नु बताए । उनले व्यवस्थित र पारदर्शी बजेट प्रणालीले मात्रै मौद्रिक नीतिलाई प्रभावकारी रूपमा काम गर्न सहज वातावरण बनाउने धारणा राखे।








