ओली, प्रचण्ड, माधब नेपाल र चुपचाप शेरबहादुर

  • ख-
  • ख+

एउटा प्रधानमन्त्री नराम्रो नै सहि जस्तो भने पनि काम गरिरहेको छ त्यसलाई गुण र दोषको आधारमा हैन भागवण्डा नमिलेर पार्टीको विवादमा अनावश्यक रुपमा तानिन्छ र पटक पटक घिसार्ने प्रयास गरिन्छ भने त्यो व्यक्तिले जनताको बिचमा नगएर कहाँ जान्छ त ?

केहि महिना अगाडि विश्वको शक्तिशाली राष्ट्र अमेरिकामा कार्यकारी राष्ट्रपतिको लागि निर्वाचन भयो, आफुलाई कट्टर राष्ट्रवादी बताउने राष्ट्रपति डोनाल्ड ट्रम्प नराम्ररी पराजित हुन पुग्नुभयो । ‘ म भनेको अमेरिका हुँ मैले नै जित्नुपर्छ ‘ भन्ने भावनामा ठेश पुग्न लागेपछि मत गणनामा आफु पछाडि पर्नासाथ वहाँले निर्वाचनको परिणाम नस्विकार्ने अडान लिनुभयो र अनैकौ बखेडा झिक्नुभयो । अड्डा अदालत गुहार्दा पनि कतैबाट साथ नपाएपछि गतसाता नवनिर्वाचित राष्ट्रपति घोषणा कार्यक्रममा वहाँका सर्मथकद्धारा कंग्रेस भवनमा जुन किसिमको उपद्रो मच्चाईयो त्यसले तमाम अमेरिकीहरुको शिर एकपटक विश्वको सामु नराम्ररी झुकायो । त्यहि शिर झुकाएको बदला अमेरिकीहरुले केहि दिनमा शायद डोनाल्ड ट्रम्पसग लिदैछन् या त वहाँ आफै राजिनामा दिएर केहिदिन अगाडि ह्वाईट हाउसबाट बाहिरिनुहुनेछ या त वहाँलाई महाअभियोग लगाएर गलत्याएर, बेईजतिपूर्वक निकालिनेछ र इतिहासमा लेखिनेछ आफुलाई राष्ट्रवादीको उपमा दिएर राष्ट्रपतिको निर्वाचन जितेका राष्ट्रपतिले देशको शिर झुकाउने काम गरेको हुनाले वहाँलाई राष्ट्रपतिबाट हटाईयो ।
“सिद्धान्त जाए तेल लेने” भनेर नेपाली कांग्रेसलाई तह लगाउने र राज्यसत्ता कब्जा गर्ने महत्वकांक्षाका साथ नेपालमा दुई ठुला पार्टीहरु एकिकरण गरि नेकपाको निर्माण गरियो । जस्ले जति नै मेहनत गरेको हुँ भने पनि एकिकरणको त्यस्को श्रेय दुई ठुला नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहालको रहेको थियो । कागको फुल चोर्ने कोईलीजस्ता बाठा कम्युनिष्टहरुले नाकाबन्दिको समयमा भारतसग पैठेजोरी खेलेर चिनतिर सम्बन्ध बढाउने केपी ओलीलाई चुनावमा प्रधानमन्त्रीको उमेदवारको रुपमा अगाडि सारे र संसदमा दुईतिहाई नजिकको नतिजा ल्याए ।
भारतसग जि हजुरीमै रमाउने धेरै प्रधानमन्त्री देखिएको हालसम्मको ईतिहासमा केपी ओलीले मोदीसग नराम्ररी टक्कर लिन थाले, आफ्नो ससुराली र मावली छिरेभन्दा सजिलै बालुवाटारदेखि सिंहदरवारसम्म छिर्ने भारतिय राजदुतलाई राष्ट्रपतिको गेटैबाट फर्काईए । जस्को कारण आफु स्वतन्त्र भएदेखि स्वाधिन नेपालमाथि हालिमुहाली गर्दै आएको भारतलाई टाउको दुखाईको बिषय बन्न पुग्यो भने ‘ ओलीको गफै त हो नि काम केहि गर्न सक्दैन ‘ भन्ने सोचेका आफ्नै पार्टीका नेताहरुलाई केपी ओली राष्ट्रवादको सिक्का नजानिदो किसिमले चल्ला जस्तो लाग्यो ।
हामी नेपालीको स्वभाव नै छ रे आफ्नो दुर्गतिले भन्दा पनि अर्काको प्रगतिले पिरोल्ने । पोल्न पनि असाध्यै पोल्यो आफ्नै दलका नेताहरुलाई । त्यसपछि सबैको आफनो मनमनै सल्लाह भयो, सूर्य थापा, बिष्णु रिमाल र गोकुल बास्कोटाजस्ता पात्रका वरिपरका वावजुद रेलका सपना, अन्तराष्ट्रिय बिमानस्थल, सुरुगंमार्गहरुको निर्माण, ऋण नै लिएर भएपनि महत्वकांक्षी योजनाहरु प्रस्तुत, चिनतिर सम्बन्ध बिस्तार, भारतसगको सिमा विवादमा केहि प्रगति, नेपालीको मनमा अलिकति स्वभिमानीपनको विकास ‘उफ ! यसरी नै केपी ओली काम गर्न थाले भने त पार्टीमा मात्र हैन देशमा नै आफ्नो अस्तित्व नै सिद्धिन्छ । नेपालको नेता भनेको केपी ओली मात्र हुन् भनेर जनताले सोच्न थाले भने बिचमा बसेर सबैतिरको निर्णायक शक्ति हुने मेरो चाहाना ? सर्वहारा, कम्युनिष्ट सर्वआहारा नेता के गरि कमाई खाने ? ओहो केपी ओलीले त हुँदा खाँदाको राजनिति भताभुगं पार्ने भए केहि त गर्नु पर्यो । ‘ नेताहरुको मन उद्धेलित हुन थाल्यो ।
पार्टीमा अर्को समुहभन्दा झिनोमतले अगाडि भएका केपी ओली माओवादीसगको एकिकरण पश्चात पार्टीमा अल्पमत रहेको जगजाहेर थियो । त्यसपछि तानावाना बुनियो, कोठे, होटले, पार्टी प्यालेसे अनेकौ गुप्त बैठकहरुको आयोजना गरियो । सरकारका नराम्रा कामहरुलाई बिरोध गर्नुभन्दा पनि राम्रा कामहरु गर्न रोक्न प्रतिपक्षको आवश्यकता नै भएन । दुईतिहाई बराबरको सरकारलाई न त बर्षौसम्म संवैधानिक नियुक्तिहरु गर्न दिईयो न त आफ्ना साला, साली, भाई भतिजा, पैसाको बिटो बुझाएकाभन्दा वेगर राजदुत बनाएमा स्विकृति दिईयो । सबै कुरामा चाँखे थाप्न थालेपछि केपी ओली पनि के कम दुबैपक्ष बिच पैठेजोरी चल्न थाल्यो र विगत केहि महिनादेखि नेपाली जनताले फ्रि अफ् कष्टमा नेकपाका नेताहरुको गाईजात्रा हेर्न पाए ।
कोरोनाको महामारीमा त्यो गाईजात्रा न कोरोना रोकथामको लागि थियो न त देशको उन्नतिको लागि थियो, थियो त एकले अर्को पक्षलाई तह लगाउने कसैलाई कुर्चीबाट घिसारेर अर्को त्यो कुर्चीमा कसरी चढ्ने भन्ने थियो । लामो तानातानी र रस्साकस्सी चल्दा पनि एकले अर्कोलाई गलाउन नसकेपछि सल्लाह भयो ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले भनेको मान्ने राष्ट्रपतिलाई महाअभियोग लगाईदिम् टन्टै साफ् , प्रधानमन्त्रीलाई अविश्वासबाट हटाईदिम् कुरै सिघियो । अलि निहु खोज्नसक्ने प्रधानन्यायाधिश हुन् तिनलाई पनि महाअभियोग लगाईदिम् न रहेगा बास ना बजेगा बाँसुरी ।’ राष्ट्रपतिलाई महाअभियोग लाएपछि ‘तपाई राष्ट्रपति बन्ने, म प्रधानमन्त्री बन्ने, तपाई पार्टी अध्यक्ष बन्ने’ बैठकमै भाग लगाईयो । महाअभियोगको लागि आवश्यक संख्या भनेर हिसाव गर्दा निश्कलंक प्रधानन्यायाधिश शुशिला कार्कीलाई त महाअभियोग लगाउन तम्सेको पार्टीले हामीलाई कसरी साथ नदेला त ? दिएन भने ‘राष्ट्रपति तपाईलाई भनेर पासा फ्याकौला ? गिरिजाबाबुलाई पनि त्यहि पासा फ्याँकेर उत्तानो टागं लगाईएकै हो ‘ भन्ने सल्लाह भयो । अविश्वासको प्रस्तावको पक्षमा गणपुरक संख्या पुर्याउन कुनै बाधा नै थिएन मन्त्री खान नपाएका, मन्त्रीबाट फ्याकिएका, आफ्नो पार्टीको सरकार हुदाँ पनि हालिमुहाली गर्न नपाएका असन्तुष्टहरुको ठुलो संख्या छ भन्ने सबैलाई थाहा थियो । पछि कुनै दिन काम लाग्छ भनेर कोरा कागजमा गरिराखेको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालयतिर दौडदा दौडदै प्रधानमन्त्रीबाट देशमा भएका नराम्रा कामबाट जन्मेको हैन कि पार्टीभित्रको गुटगत असन्तुष्टिबाट जन्मन लागेको अविश्वासको प्रस्तावको विरुद्ध प्रतिनिधिसभा भंग गरियो ।
अमेरिका जहाँका एकाध बाहेक सबै राजनेताहरुले देशलाई सधै सदैव उच्च महत्वका साथ सोच्ने गर्छन् , आफुभन्दा आफ्नो देशको भलाईको लागि लड्ने गर्छन् त्यस्को विपरित नेपाल जहाँ आफ्नो देशको लागि भन्दा आफन्तको भलाईको लागि लड्ने गरिन्छ त्यो देश र हाम्रो देशका नेतागणहरुको बिचमा त तुलना हुनै सक्दैन तै पनि ट्रम्पलाई लगाउन लागिएको महाअभियोग र नेपालमा पछिल्लो समय ओलीलाई लगाउन खोजिएको घोक्रेठ्याकमा केहि न केहि समानता छ । जहाँ एउटा राष्ट्रपतिलाई देशको शिर झुकाएकोमा राष्ट्रपतिकै पार्टी रिपब्लिकन पार्टीका सांसदहरु पनि महाअभियोग लगाउन सहमत हुने अवस्था छ भने नेपाल जहाँ न कहिल्यै आफ्नै पार्टीका सांसदले नराम्रो काम गर्दा कुनै कारवाहीको माग गरिन्छ न आफ्नै पार्टीका मन्त्रीले भ्रष्टाचार गरेको आरोप लाग्दा कारवाहीको कुरा गरिन्छ न यहाँ आफ्ना ठेकेदारले बर्षौसम्म बाटो, पुल नबनाउदा कारवाहीको कुरा गरिन्छ, न त गोविन्द केसींहरुले आन्दोलन गर्दा सडकमा पुगेर सर्मथन गरिन्छ, गरिन्छ त सांसदहरुको तलबभत्ता बढाउन तालि बजाईन्छ , आफ्ना मान्छेलाई लाभको पदमा नियुक्ति दिदा जुगाँ मुसारिन्छ , यहाँ पार्टीको मिटिगंमा भन्ने गरिन्छ ‘भागवण्डामा चित्त बुझे तपाईलाई नेता मानिन्छ नत्र विचार गर्नुस् तपाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिश जे भएपनि हाम्रा व्यक्तिगत ईच्छा र आकांक्षाहरुका बिचमा तगारो बन्ने प्रयास गर्नुहुन्छ भने…..।’


एउटा प्रधानमन्त्री नराम्रो नै सहि जस्तो भने पनि काम गरिरहेको छ त्यसलाई गुण र दोषको आधारमा हैन भागवण्डा नमिलेर पार्टीको विवादमा अनावश्यक रुपमा तानिन्छ र पटक पटक घिसार्ने प्रयास गरिन्छ भने त्यो व्यक्तिले जनताको बिचमा नगएर कहाँ जान्छ त ? अदालतमा मुद्धा चलेको भएर होईन ‘अचानोको पिर अचानोलाई नै थाहा हुन्छ’ त्यसैले त यतिबेला शेरबहादुर देउवा चुपचाप हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्