पहिले उसले हात समात्यो !
गुरूलाई सम्झें…
लट्ठी थाप्न गल्तीहरूमा
सबैले झैं हात फैलाउँदा
गुरू मुसार्नुहुन्थ्यो मेरा हात समाई
कुनै ईखालु केटोको हातमा पर्थ्यो
मेरो भागको सजाय पनि
मेरो रूपलाई
मेरै दुश्मन बनाइदिने पहिलो मानिस
मेरै गुरू हुन…
मैले हात छुटाउन बल लगाइन !
अनि उसले मेरो मुख थुन्यो !
आमालाई सम्झें…
अलिकती जोडले हाँस्दा खुसीहरूमा
‘उत्ताउली भइस्’ भन्नुहुन्थ्यो आमा
हतपत मुख ढाक्थें हत्केलाले ढपक्कै !
आमा सिकाउनुहुन्थ्यो-
‘छोरी भए पछि सुशील र सहनशील हुनुपर्छ’
आमाका उपदेशलाई सम्झिरहें…
मुख बाट उसको हात पनि हटाइन !
त्यसपछि उसले आँखामा रूमाल बाँध्यो !
दाजुलाई सम्झें…
बेरेर नभ्याउँदै समयको लट्टाइमा
रहरको चंगाको धागो
दाजुका जुँगाको धारले
धागो काटिदिन्थ्यो सधै
बिलाइजान्थ्यो चंगा कतै !
‘साँझ छिटो पर्छ बैनीहरूलाई’
केही नभनेरै यसै भन्थे दाजै सधैं
एउटै घरमा फरक घडी हेरेर हुर्केकी मैले
यसपाली आँखाबाट
रूमाल पनि हटाइन !
अब उसले हात पुर्यायो छातीमा !
बाबालाई सम्झें…
बाबाको पिठ्यूँ
मेरो सवारी बन्न त्यसै दिनदेखि छोडेथ्यो
जुन दिनदेखि मेरा छातीहरू
उहाँलाई बिझाउन थालेथे !
तेह्रदेखि बिझाउन थालेका छातीहरू
तेइससम्म बिझाइरहँदा
कती बोझिलो भयो होला उहाँको छाती ?!
बाबाको बोझलाई मैले
आफ्नो छातीमा सार्ने निधो गरें !
र अन्त्यमा,
उसले धावा बोल्यो अस्तित्वको मुहानमा !
प्रेमीलाई सम्झें…
‘कसैले नबुझे पनि तिमीलाई मैले बुझ्छु’ भन्थ्यो
‘कतै टाढा एउटा छुट्टै संसारमा लैजान्छु’ भन्थ्यो !
र लैजान्थ्यो त्यहाँ
जहाँ सुगन्ध हुँदैन्थ्यो, केवल वासना हुन्थ्यो !
विश्वासको घडामा
उसैले हो सबै भन्दा पहिले प्वाल पारेको
उसैले हो सपना देख्ने आँखाहरूमा
आँशुको आहल थुपारेको !
सम्झेर ल्याउँदा
सबै थोक
सबै जना
सबै घटना
अकस्मात् मलाई
बलात्कारीसंग प्रेम भयो !!
…………..
दुरान फर्काउन आएकी दिदीले
आफ्नो प्रेमकथा बैनीलाई
यसै गरी सुनाइन !!
हेमन्त गिरी, जापान