बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु, १० जनाभन्दा बढी बेपत्ता

  • ख-
  • ख+

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए ।
गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही युवा घाइते भएको हुनसक्ने खत्रीले बताए ।
मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।

आइतबार दिउँसो बडिगाड वडा नं. १० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका वडा नं. ७ र बडिगाड वडा नं. १० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ ।

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्