सुनचाँदी व्यवसायीको हत्या, २ जना पक्राउ

  • ख-
  • ख+

जनकपुरधाम । सिरहाको लाहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ । लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय मिझारको हत्या गरेका हुन् ।
टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी छातीमा गोलीसमेत प्रहार गर्दा मिझार गम्भीर घाइते भएका थिए । उनलाई तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिए पनि मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । उनको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

लहान नगरपालिका वडानम्बर २३ स्थित वडा अध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसायी गर्दै आएका थिए ।

घरको पछाडि पट्टीको भागबाट भर्‍याङ लगाइ घरको छतमा चढी छतबाट छतको ढोका प्रयोग गरी भुईँ तल्लामा झरेर फलामको हम्मर र फलामको छिनोले ढोका फोडेर ६र७ जना लुटेरा समूहभित्र प्रवेश गरेका थिए । घरभित्र प्रवेश गरेका उनीहरुको प्रतिकार गर्ने क्रममा सुनचाँदी व्यवसायीको हत्या भएको प्रहरीले जनाएको छ ।

दुई जना पक्राउ

घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न मध्येका जिल्ला सिरहा लहान नगरपालिका ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाटै फलामको छिनोसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता शर्माले बताए ।

यस्तै, लहान नगरपालिका २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई बिहान ४ बजेर ३० मिनेटमा पक्राउ गरिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्