नगरपालिकाका प्रमुख र उपप्रमुख चढ्ने गाडी कोराना सङ्क्रमित बोक्न प्रयोग गरिने

  • ख-
  • ख+

चितवन जिल्लाको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लान र ल्याउन प्रयोग गरिने भएको छ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीले प्रयोग गर्दै अएका गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो।

सङ्क्रमितलाई अस्पताल लैजान एम्बुलेन्स लगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख वनले आफू चढ्दै आएकोसहित चारवटा गाडी सङ्क्रमितका लागि प्रयोग गर्ने घोषणा गर्नुभएको हो ।

प्रमुख वनले चढ्दै आएको बा. २ झ ३३९९, उपप्रमुख दुवाडीले चढ्दै आएको ना. १ झ १५८६, प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा १२ च २७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा २ झ १२१७ नम्बरको गाडी कोरोना सङ्क्रमितलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ।

‘अब हाम्रा गाडीहरु एम्बुलेन्सका रूपमा प्रयोग गर्दैछौँ। कोही पनि नगरवासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन’ उहाँले भन्नुभयो साथै उहाँले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गर्नुभएको छ ।
सङ्क्रमितलाई छिटो छरितो रूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी प्रयोगमा ल्याइएको उहाँको भनाइ छ। यसअघि रत्ननगरले कोरोना सङ्क्रमितलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा शुरु गरिसकेको छ।

होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीले उपचार तथा रेखदेख गर्दै आउनुभएको छ। ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्