तनहूँ । तनहूँमा निर्माणको क्रममा रहेको भानुभक्त प्राणी उद्यानमा वन्यजन्तु सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । बैशाख १ गतेदेखि ७ गतेसम्म हुने सप्ताहव्यापी कार्यक्रमको व्यास नगरपालकिा वडा नं. १२ छिर्कनको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले उद्घाटन गर्नुभयो । उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले मानवजातिको संरक्षणाको लागि नै वन्यजन्तुको संरक्षण आवश्यकता रहेको र वन्यजन्तु संरक्षणाको लागि तिनीहरुको वासस्थानको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा भानुभक्त प्राणी उद्यानका संरक्षण अधिकृत भोजराज पन्थले प्राकृतिक रुपमा र वन्यजन्तुको संरक्षणको लागि अति महत्वपुर्ण रहेको यस प्राणी उद्यानका कामहरु अगाडि बढिरहेको, मुअव्जाको लागि आवश्यक रकम माग गरिएको , मुअव्जाको रकम प्राप्त गरेपश्चात डिपिआर बनाएर काम शुरु हुने बताउनुभएको थियो । पानीको प्रशस्त सम्भावना रहेको क्षेत्र भएको र उद्यान निर्माण पश्चात यो स्थान तनहूँ जिल्लाको लागि मात्र नभएर नेपाल भरिकै लागि उत्कृष्ट स्थान हुनसक्ने पन्थले बताउनुभएको थियो ।
कार्यक्रमका बिशेष अतिथि पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलले सबै पार्टीका नेता तथा स्थानियहरुसग समन्वय गरि उद्यान निर्माण कार्यलाई तिब्रगतिमा निर्माणको लागि पहल गर्नुपर्ने बताउनुभएको थियो ।
वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व भन्ने नाराका साथ सुरु भएको २७ औं सप्ताहको पहिलो दिनमा कार्यक्रम उद्घाटन तथा पत्रकारहरुसग अन्तर्क्रिया दोश्रो दिन शुक्रवार चरा अवलोकन साथै उद्यान सिमाना निरिक्षण तथा अनुगमन, तेश्रो दिन शनिवार सरसफाई , चौथो दिन आईतवार मैवलमा स्कुल शिक्षा कार्यक्रम, पाँचौ दिन सोमवार उपभोक्तास्तरमा वन डढेलो सचेतना सम्बनिध कार्यक्रम छैठो दिन मंगलवार स्थानिय सरोकारवालाहरुसग मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन न्युनिकरण सम्बन्धि छलफल र अन्तिम अर्थात सातौ दिन बुधवार समापन कार्यक्रम गरिने बताईएको छ ।
रेन्जर दिपेश मिजारले संचालन गरेको कार्यक्रममा रेन्जर राजन पण्डितले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
०७३ साल माघ २० गते नेपाल सरकारको निर्णय बाट स्थापना भएको यस प्राणी उद्यानले ४ सय २५ हेक्टर क्षेत्रफलमा रहने र यसले व्यास नगर पालिकाको वडा नं. ११ र १२ तथा भानु नगर पालिकाको वडा नं. ५ र ६ का भागहरु पर्नेछन्।











