तनहूँ । व्यास नगरपालिका वडा नं. १० मा रहेको श्री सर्वज्योति माध्यमिक विद्यालयको नयाँ भवनको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्धघाटन गर्नुभएको छ । ६० लाखको लागतमा निर्माण गर्न लागिएको ४ कोठे नयाँ भवनको मेयर न्यौपानेले ईट्टा राखेर शिलन्यास गर्नुभएको हो ।
उक्त अवसरमा मेयर न्यौपानेले विद्यालयको भवन लगायतका काममा नगरपालिकाले काम गरिरहेकोले विद्यालयको स्तर बढाउन पनि लाग्न सबैमा आग्रह गर्नुभएको थियो । विकास निर्माणका सवालमा आफु सधै उदार भएकोले दिर्धकालिन सोच राखेर निर्माण गर्न लागिएको सर्वज्योतिको भवन निर्माण सम्पन्न गर्नमा कुनै कसर नराखिने बताउनुभएको थियो ।
उक्त अवसरमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद अधिकारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको ४ कोठे भवनको लागि कार्यक्रम मार्फत ३६ लाख र व्यास नगरपालिकाबाट ८ लाख रकम दिने सहमति भएको र बाँकी रकम जुटाउन लागि प्रदेश सरकारदेखि विभिन्न निकायहरुसग पहल गरिरहेको बताउनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक भरत काफ्लेले संचालन गर्नुभएको कार्यक्रममा व्यास १० का अध्यक्ष खेमराज पोखरेल, वडा सदस्य ईश्वर पौडेल , व्यास नगरपालिका शिक्षा शाखाका अधिकृत नविन पराजुली, चण्डिदेवी राष्ट्रिय मा. वि. का प्रधानाध्यापक रामचन्द्र पोखरेल (आरसि) ले विद्यालयको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य वासना कुवर, विद्यालय व्यवस्थापन समितिका पुर्व तथा वर्तमान पदाधिकारी, विद्यालयका शिक्षक लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।








