वर्डक्याम्प नेपाल २०२२ चितवनको भरतपुरमा हुने

  • ख-
  • ख+

भरतपुर, १ असोज । वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय अन्तराष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल–२०२२’ हुने भएको छ । आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने कार्यक्रम भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा हुने कार्यक्रमका मुख्य संयोजक सुभाष खड्काले जानकारी दिनुभएकाे छ।

कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुने बताइएको छ ।

यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका विभिन्न विधाहरुमध्ये भाषा अनुवाद, थिम समिक्षा, सहायता, डिजाइन, मार्केटिङ, डकुमेन्टसन आदि विषयमा प्रशिक्षण दिइने प्रशिक्षक छनौट समितिका संयोजक ई. निशाल गुरुङले जानकारी दिनुभएकाे छ । दोस्रो दिन प्रत्यक्ष रुपमा वर्डप्रेसलाई नै योगदान गरिने हुँदा उक्त दिन अझ महत्वपूर्ण रहने गुरुङले बताउनुभएकाे छ ।

कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थी सहुलियत टिकटका लागि एक हजार रुपैया, प्रारम्भिक दर्ता गर्नेको लागि एक हजार दुई सय रुपैया र अन्य सहभागीहरुको लागि दुई हजार रुपैया शुल्क तोकिएको छ । सहुलियत र प्रारम्भिक टिकटको लागि निर्धारित समय भित्र नाम दर्ता गराउनु पर्ने अर्थ संयोजक शेर बहादुर अधिकारी जानकारी दिनुभयो ।

उक्त रकममा सहभागीका लागि निःशुल्क प्रशिक्षण सँगै कार्यक्रम अवधिभर नास्ता, खाना, खाजा र टि–सर्टको व्यवस्था गरिने जनाइएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि ३८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

अर्थ संयोजक अधिकारीका अनुसार एक हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको साे कार्यक्रम सम्पन्न गर्नका लागि झण्डै ४० लाख खर्च हुनेछ ।

कार्यक्रमबाट वर्डप्रेसमा व्यवसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति तथा कम्पनी, सूचनाप्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्याति प्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिने आयोजक संस्थाले जनाएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प भएको थियो । नेपालका सन्दर्भमा सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको आयोजक समितिका स्थानिय संयोजक विकास पुनले जानकारी दिनुभयो ।

नेपालको विभिन्न सहरहरु काठमाण्डौं, पोखरा, विराटनगर, वुटवल र चितवनमा विभिन्न वर्डक्याम्प सम्पन्न भइसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्