आदिपुरुष का लागि प्रभास र सैफ अली खानले कति लिए पारिश्रमिक ?

  • ख-
  • ख+

भारतीय अभिनेता प्रभास, सैफ अली खान र कृति बहुप्रतिक्षित फिल्म आदिपुरुष को टिजर आइतबार सार्वजनिक भएको छ।

हिन्दी र तेलेगु भाषामा छायांकन हुने आदिपुरुष ओम राउतले निर्देशन गरेका हुन्। पछि यो तमिल, मलयालम, कन्नड लगायत अन्य भाषामा समेत उपलब्ध हुने बलिउड हंगामाले जनाएको छ। यसमा कृति सेननको पनि मुख्य भूमिका छ।

आदिपुरुष थ्री डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टोलीले बताएको छ।
आइतबार सार्वजनिक भएको एक मिनेट ४६ सेकेन्डको टिजरमा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको।

आदिपुरुष करिब ५ सय करोड भारूमा बनिरहेको फिल्म भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर यति महँगो बजेटको यो फिल्मको टिजरले प्रशंसाभन्दा धेरै आलोचना खेप्नुपरेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भनेका छन्।
भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी सामाजिक सञ्जालहरूमा आइरहेको छ।

टिप्पणी गर्नेहरूले सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना गरेका छन्।

भुषण कुमार, कृष्ण कुमार, ओम राउत, प्रसाद सुतार र राजेश नायरद्वारा निर्मित ुआदिपुरुषु सन् २०२३ जनवरी १२ मा रिलिज हुने भनिएको छ।

यति ठूलो बजेटमा बनेको फिल्मले सुरूदेखि नै नकारात्मक टिप्पणी खेप्नु परेको छ।

फिल्मका कलाकारहरूको पारिश्रमिकमा मात्र निर्माताले करोडौं खर्चेका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आदिपुरुष मा रामको भूमिका निर्वाह गरेका प्रभासले मात्र एक सय करोड भारू पारिश्रमिक लिएका छन्। उनले सय करोड पारिश्रमिक लिँदा उनी भारतीय फिल्ममा सबभन्दा धेरै पारिश्रमिक लिने कलाकार हुनेछन्।

त्यस्तै सीताको भूमिकामा देखिएकी कृति सेननले तीन करोड भारू लिएकी छन्।

सैफ अली खान फिल्ममा रावणको भूमिकामा छन्। उनको रावण रूपको खुबै आलोचना पनि भइरहेको छ। यो भूमिकाका लागि सैफ अली खानले १२ करोड भारू लिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

रामका भाइ लक्ष्मणको भूमिका निर्वाह गरेका अभिनेता सनी सिंहले डेढ करोड भारू लिएका छन्।

आदिपुरुषमा सोनल चौहानको पनि महत्वपूर्ण भूमिका रहेको बताइएको छ। जसका लागि उनले ५० लाख भारू पारिश्रमिक लिएकी छन्। ( एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्