बाबुराम नेपाली। आँबुखैरेनी । तनहूँ ।आँबु गाउँ पालिका वडा नं. १, सत्रसय रातमाटेमा रातमाटे खानेपानी तथा सरसफाई समितिले उपभोक्ताहरुको भेला सम्पन्न गरेको छ । समितिका अध्यक्ष कुमार पोखरेलको अगुवाइमा सम्पन्न सो भेलामा समितिको बजेट र वर्ष भरी गरिएको कार्यविवरण तथा आगामी कार्यायोजनाको विषयमा छलफल भएको छ । सोही अवसरमा ट्याङ्की वरपर सरसफाइ गर्ने तथा ट्याङ्की सफा गर्ने काम पनि गरिएको छ । अहिलेसम्म आँदिमुलको सो पानी शुद्धीकरण नगरी सीधै उपभोग गर्ने गरिएको छ ।
श्री सत्य साई संगठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा २०६५ सालमा स्थापित सो खानेपानी योजनामा आँदिमुलबाट पानी ल्याएर रातमाटेमा एउटा २०,०००/- लिटरको रिजर्भ ट्याङ्की बनाइएको थियो । स्थानिय उपभोक्ताले ३ महिना श्रमदान गरेका थिए । सत्य साइ सेवा संगठनका सागर अधिकारीका अनुसार सो परियोजनामा करीब ८ लाख खर्च भएको थियो । तत्कालिन समयमा रातमाटेमा बसोबास गरिरहेका दलितहरुलाई लक्षित गरेर सो परियोजना ल्याइएको भएता पनि त्यस क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण उपभोक्ताहरु सो परियोजनाले लाभान्वित भएका छन् । समितिका सचिव रिप बहादुर अच्छामीका अनुसार वार्षिक रुपमा प्रती घर रु.३००/- शुल्क उठाएर खाने पानी मर्मत सम्भार तथा विस्तार गरिँदै आइएको छ । शुरु शुरुमा एक टोलमा एउटा धारा राखिएको भएपनि अहिले लगभग प्रत्येक दुइ घरको लागि एउटा धारो पुगेको छ । पचास हजार लिटरको रिजर्भ ट्याङ्की बनाउन सकिएको खण्डमा हाल उपभोग गरिरहेका ६७ जना उपभोक्ताको प्रत्येक घरमा धारा पुर्याउन सकिने कुरा समितिका सदस्य थमन सिंह नेपालीले बताउनुभयो ।
कोषाध्यक्ष दुर्गा भट्टराईका अनुसार अहिले समितिको कोषमा रु. २,०८,७७३ /- मौज्दात रहेको छ । सो रकमबाट केही धारा बिस्तार कुबेर डाँडा तर्फको पाइपलाईन प्रतिस्थापन गर्ने योजना रहेको छ ।








