चितवन हस्तकला व्यवसायी संघले महिला उद्यमीलाई केराको रेसाबाट बन्ने विभिन्न सामाग्री बनाउने तालिम प्रदान गरेको छ । भरतपुर महानगरपालिका ६ लेक ट्वान्टी थाउजेन्ट फार्म एण्ड रिसोर्टमा ३५ जना महिलालाई तालिम प्रदान गरिएको हो ।
पुस १ गतेदेखि सञ्चालन भएको तालिममा केराको रेसाबाट धागो निकालेर डोर म्याट, डिनर म्याट, टि म्याट, गलैचा, चकटी बनाउन सिकाईएको छ । फालिने केराको रेशालाई सदुपयोग गर्नका लागि महिलाहरुलाई तालिम प्रदान गरिएको चितवन हस्तकला व्यवसायी संघका सचिव बिष्णुहरी तिवारीले जानकारी दिए । उनका अनुसार सबैभन्दा पहिला महिलालाई केराको रेसाबाट धागो निकाल्न सिकाईन्छ । त्यसबाट निस्कने धागोको प्रकृति हेरेर सामाग्री बनाईने तिवारीले बताए । ‘रेसाबाट निस्केको मसिना धागोबाट कपडा बुन्ने गरिन्छ । मोटो धागोबाट गलैचा बन्ने, त्यसभन्दा मोटो भए चकटी बन्ने गरिएको छ’–उनले भने । पुस १५ गतेसम्म सञ्चालन हुने नेपाल हस्तकला महासघ र अन्नपुर्ण हस्तकलाको सहयोगमा निःशुल्क प्रदान गरिएको हो ।
तालिममा सहभागिले उत्पादन गरेका वस्तु समेत खरिद गर्ने गरेको तिवारी बताए । चितवन हस्तकला व्यवसायीले धागो काट्ने मेसिन समेत लिएको छ । यसअघि पनि उसले ३५ जनालाई तालिम प्रदान गरेको छ ।








