उद्योग वाणिज्य संघ चितवनले नारायणगढ बजारमा नक्सा पास भएका घरमा डोजर चलाएको भन्दै विरोध गरेको छ । आज (शनिवार) पत्रकार सम्मेलन गरेर गोन्द्राङदेखि पुल्चोकसम्म नक्सापास भएका व्यवसायीक भवनमाथि सडक विस्तारका क्रममा डोजर चलाएको भन्दै विरोध गरेको हो ।
‘सडक विस्तारको क्रमममा भरतपुर महानगरले राजमार्ग क्षेत्रका घरहरु २०७१ सालमा भत्काएको थियो । त्यसपछि महानगरपालिकाबाट नक्सापास लिएर सम्पन्न लिएका घरहरुमा पनि डोजर चलाईएको छ,’ संघका अध्यक्ष चुननारायणश्रेष्ठले भने, ‘सडक डिभिजन कार्यालय भरतपुरले व्यवसायीहरुसंग समन्वय नगरि डोजर चलाउनु गैरजिम्मेवर पूर्ण छ।’
कोभिड पछिको आर्थिक मन्दीका कारण नराम्रोसंग प्रभावित भएको उद्योग व्यवसायमा अनुचित तरिकाले सटरमा डोजर लगाउने कार्यले व्यवसायीहरुलाई आतंकित बनाएको बताए । यही अवस्थामा व्यवसायीहरु विस्थापित हुने अवस्था आएको उनको भनाई छ । घर भत्काउने क्रममा व्यवसायीको क्षतीलाई यथोचित न्याय गरिदिन उनले अनुरोध गरेका छन् । उद्योग वाणिज्य संघ चितवनले न्यायका लागि अदालतसम्म जाने बताएको छ । अदालतबाट निषेधाज्ञा आदेश भैसकेको घरमा समेत सडक डिभिजनले डोजर चलाएको संघले गुनासो गरेको छ । ‘घर धनी र व्यवसायीलाई व्यवस्थापनको समय समेत नदिई, घरधनीले आफैँ भत्काउन लागेको अवस्थामा समेत नगरको सुन्दरता विग्रने र भवनको बाँकी संरचना कमजोर गराउने तवरले एक्कासी डोजर लगाई संरचना भत्काउने कार्यको घोर भत्सना गर्दैछौ’ उद्योग वाणिज्य संघ चितवनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले दुई बर्षदेखि नै सडक क्षेत्रमा बनेका भौतिक संरचना हटाउन निर्देशन दिएको थियो । त्यसपछि दुई पटक सूचना निकालेर घरटहर भत्काउन सुरु गरेको हो । तर, व्यवसायीहरु भने थाहा नदिई एक्कासी भत्काउन सुरु गरेको आरोप लगाएका छन् । ‘पुल्चोकदेखि गोन्द्राङसम्मको सड विस्तारका सम्बन्धमा सडक र महानगरपालिकासंग संरचना हटाउने सवालमा पेटिमा मात्र डोजर लगाउने र अन्य संचनामा क्षति नहुने तवरले कम गर्ने आश्वासन पाएका थियौँ,’ उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले भने,‘ एकातर्फ संघका प्रतिनिधिलाई आश्वासन दिने र अर्को तर्फ अव्यस्थित रुपमा संरचना भत्काउने कार्यप्रति हाम्रो गहिरो आपत्ति छ ।’ घरधनी आफैले भत्काउन लागेको स्थानमा समेत डोजर चलाएको उनले बताए । मापदण्डभन्दा बढी भएको संरचना व्यवसायी घरधनी आफैँले भत्काउँदै गरेको अवस्थामा श्रमिकहरुलाई काम गर्न नदिई डोजर लगाई सटर भत्काउने कार्यले गर्दा व्यवसायीहरु समस्यामा परेको संघको अरोप छ । नारायणगढको मुख्य राजमार्गका घरमा डोजर चलाएपछि केही व्यवसायीले आफै घर भत्काउन सुरु गरेका छन् । अहिले नारायणगढ बजार खण्डहर अवस्थामा देखिन्छ । अधिकांश घरहरु भत्किएका छन् ।
नारायणगढ बजारमा सडक सीमा खाली गर्ने भन्दै २०७१ सालमा पनि डोजर लगाइएको थियो । त्यसपछि उनले महानगरपालिकाको निर्देशन अनुसार घर बनाएका थिए । तर महानगरपालिकाले दोस्रोपटक फेरी डोजर चलाएको छ ।
चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन सुरु भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट गोन्द्राङसम्मको सडक विस्तारको क्रममा १ सय ५८ भन्दा बढी घर भत्काउनका लागि सिमाङ्कन गरेको छ । (कालिका न्युज)








