हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिइने

  • ख-
  • ख+

काठमाडौं/ सत्ता साझेदर दलहरुले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित गरेको छ। मस्यौदालाई अन्तिम रुप दिएर शनिबार सार्वजनिक गरिने बताइएको छ।

मस्यौदाम स्वास्थ्यका ८ वटा विषय परेका छन्। जसमध्ये चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त समय काम गरेबापत थप सुविधा दिइने विषय पनि रहेको छ। हाल चिकित्सकहरु विशेषगरी मेडिकल अफिसर र आवासीय चिकित्सकहरुले लामो समय काम गर्नुपर्ने अवस्था रहेको छ। यसका साथै, नर्स लगायतका स्वास्थ्यकर्मीले पनि ड्युटी समयभन्दा बढी काम गर्नुपर्ने बाध्यता रहेको छ।

सत्ता साझेदार दलहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीले सातामा ४० घण्टाभन्दा बढी काम गरेमा अतिरिक्त सुविधा दिने प्रस्ताव गरेको छ। न्यूनतम साझा कार्यक्रममा सेवासुविधामा पुनरावलोकन गर्नेदेखि चिकित्सकको संख्या बढाउने विषय पनि रहेको छ।

”आम नागरिकमा चिकित्सा सेवा पुऱ्याउन चिकित्सकहरूको संख्या बढाउने। चिकित्सक तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न विद्यमान सेवा सुविधामा पुनरावलोकन गर्ने र साप्ताहिक ४० घन्टाभन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने,” न्यूनतम सेवा मापदण्डमा उल्लेख छ।

यस्ता छन् न्यूनतम साझा कार्यक्रममा प्रस्ताव गरिएका स्वास्थ्यका ८ विषय
निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने। यसका लागि-

१. सबै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने। सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुयाउने।

२. ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधी उपलब्ध गराउने। प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाउने। स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउने।

३. सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल निर्माण कार्य सम्पन्न गर्ने।

४. महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक रु १ हजार ५ सय उपलब्ध गराउने।

५. प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्यजांच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गर्ने। ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निशुल्क आपत्कालीन उद्धार गर्न हवाइ एम्बुलेन्स र एम्बुलेन्सको थप व्यवस्था गर्ने।

६. सबै वालवालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रबन्ध गर्ने।

७. आम नागरिकमा चिकित्सा सेवा पुऱ्याउन चिकित्सकहरूको संख्या बढाउने। चिकित्सक तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न विद्यमान सेवा सुविधामा पुनरावलोकन गर्ने र साप्ताहिक ४० घन्टाभन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने।

८. सरकारी, सामुदायिक र निजी क्षेत्रवाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चितताका लागि अधिकार सम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल एक्रिडिटेसन अथोरिटी), रोग नियन्त्रण केन्द्र तथा खाद्य तथा औषधी नियमन प्राधिकरण बनाई स्वास्थ्य सेवाको नियमन गर्ने । (स्वास्थ्य खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?