काठमाडौंको साँखुमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
बुधबार बेलुकी पौने ७ बजे शंकरापुर नगरपालिका वडा नम्बर ९ इन्ड्रेणीस्थित साँखु(जोरपाटी सडकखण्डमा टिपरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
ब्रम्हटोल जाँदै गरेको बा ५ ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९४ प ४४९८को मोटरसाइकल र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
शंकरापुर-७ साँखुका ५० वर्षीय पवनलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २२ वर्षीय अनिश खड्काको टिपरको ठक्करबाट निधन भएको हो।
श्रेष्ठसँगै उनका आफन्त पुनम श्रेष्ठ पनि सवार थिइन्। ठक्करपछि घाइते भएका पवनलाललाई नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो।
पुनम र अनिशलाई शंकरापुर अस्पताल लगिएको थियो। उपचारको क्रममा पवनलाल श्रेष्ठको सवा ७ बजे मृत्यु भएको थियो।
यस्तै अनिशको साढे ७ बजे मृत्यु भएको एसपी रिजालले बताए।
घाइते भएकी पुनमको टोखास्थित ग्रान्डी अस्पतालमा उपचार जारी छ।
पवनलाल श्रेष्ठ लावन्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन्। नेवाः पत्रकार राष्ट्र दबूका सदस्य समेत हुन्।
टिपर चालकलाई प्रहरीले गए राति सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ। (सेतोपाटी)








