पानीबाट पनि निको हुन्छन् यी रोग

  • ख-
  • ख+

प्राकृतिक चिकित्सामा पानी अर्थात् जलको प्रभावकारी भूमिका छ । पानीबाट नै गरिने उपचार विधि भएकाले यसलाई जल चिकित्सा (हाइड्रो थेरापी) भनिएको छ ।

जल चिकित्साको अभ्यास सदियौंदेखि हुँदै आएको छ र यो नेपाल र भारतमा मात्र होइन, विश्वभर नै प्रचलनमा छ । मलद्वारसँग सम्बन्धित रोगका लागि होस् वा तनाव हटाउन, जल चिकित्सा उपयोगी मानिएको छ ।

खासमा तातो पानी, मनतातो पानी र चिसो पानीमा यस्तो उपचार विधि अपनाउन सकिन्छ ।

जल चिकित्साका प्रचलित पाँच विधि

१. तातोपानी खुट्टा डुबाएर गर्ने

२. कम्मरमुनिको भाग पानीमा डुबाएर गर्ने

३. शरीरको कुमदेखि कम्मरसम्म पानीमा डुबाएर गर्ने

४. पानीको बाफ निकालेर गर्ने

५. बरफबाट शरीरको विभिन्न भागमा मसाज गर्ने

के फाइदा ?

जल चिकित्सा खासगरी शरीरलाई स्वस्थ, तन्दुरुस्त र ताजा राख्न उपयोगी मानिएको छ । यसको तुरुन्त प्रभाव भनेको शरीरले ताजा महसुस गर्नु नै हो । साथै जोर्नीको दुखाइ, टाउको दुखाइ, पेट दुखाइमा आराम मिल्छ ।

कम्मरमुनिको भाग मनतातो पानीमा डुबाएर गरिने अभ्यासले मलद्वारसम्बन्धी रोग निको हुन्छ । खासगरी पायल्स, कब्जियत, फिसर जस्ता रोगहरुमा यसले निकै प्रभावकारी ढंगले काम गर्छ ।

छालासम्बन्धी रोग निको बनाउन, पाचनको समस्या ठीक गर्न पनि जल चिकित्सा उपयोगी हुन्छ ।

कसरी लिने जल चिकित्सा ?

जल चिकित्सा एकदमै सजिलो विधि हो र यो सबैले आ–आफ्नै घरमा पनि गर्न सक्छन् । यसका लागि कम्मरमुनिको भाग डुब्ने वा टाउकोमुनिको शरीर डुबाउने भाँडा भए हुन्छ । आफ्नो आवश्यकता र सुविधाअनुसार जल चिकित्सा लिन सकिन्छ । जस्तो कसैले खुट्टा मात्र तातो पानीमा डुबाएर राख्न सक्छन् भने कसैले कम्मरमुनिको भाग । कसैले टाउकोमुनिको भाग डुबाएर पनि जल चिकित्सा लिन सक्छन् ।

जल चिकित्सा लिंदा एक पटकमा १० देखि ३० मिनेटसम्म बस्न सकिन्छ । स्टिम बाथको व्यवस्था भने घरमा नहुन सक्छ । यसका लागि स्पा सेन्टर सुविधाजनक हुन सक्छ ।

प्राकृतिक जल चिकित्सा

तपाईं, हामीले सुनेकै छौं, रसुवास्थित तातो पानीको जलकुण्ड र सिन्धुपाल्चोकको तातोपानीमा शरीर डुबाउँदा कतिपय रोगबाट मुक्त भइन्छ । यो खासमा प्राकृतिक जल चिकित्सा नै हो ।

प्राकृतिक तातो पानीमा शरीर डुबाएर बस्दा छालाको समस्यादेखि पाचन क्रिया राम्रो हुनेसम्म अनुभव धेरैले गरेका छन् ।

जटिल रोग भएकाले पनि गर्न सक्छन् जल चिकित्सा ?

कुन रोग हो वा कस्तो स्थिति हो, त्यस आधारमा जल चिकित्सा लिन सकिने वा नसकिने भन्ने कुरा टुंगो गर्न सकिन्छ । दीर्घरोगीले वा जटिल रोग लागेकाले चिकित्सकको परामर्श लिएर मात्र जल चिकित्सा लिनुपर्छ ।

(डा. श्रेष्ठ प्राकृतिक चिकित्सक हुन् । उनी नयाँ बानेश्वरस्थित आयुष अस्पतालमा कार्यरत् छिन् । डा. श्रेष्ठसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्