कास्की । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धकोे खोप ‘कोभिसिल्ड’ आइतबार साँझ पोखरा आइपुगेको छ । गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।
सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको र चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालहरुमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ ।
खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार “कोभिड–भ्याक्सिन पहिलो चरणमा ‘फ्रन्टलाइनर्स’लाई दिइने र अन्य जिल्लामामा पनि स्वस्थ्यकर्मीलाई तालिम दिएको कारणले तिनै स्वस्थ्यकर्मीहरुबाट खोप दिईने छ ।
गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताईएको उक्त खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ ।
एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिनुपर्ने र १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । सरकारले कोरोना खोप आए पनि जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरको छ । यसरी गण्डकी प्रदेशसगै अन्य जिल्लामा पनि खोप आएसगै स्वस्थ्यकर्मीहरुको मनोवल अझै उच्च भएको स्वस्थ्यकर्मीहरुको भनाई रहेको छ ।








