नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो ।

‘सबै नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौं । यो नेपालको स्वास्थ्य क्षेत्रकै लागि ठूलो सफलता हो,’ कलेजो प्रत्यारोपण विशेषज्ञ डा। भण्डारीले भने, ‘बाहिर कसैको भर नगरी हामीले २०७२ सालदेखि नै तयारी थालेका थियौं, जुन आज पूर्ण भयो ।’

.अस्पतालमा हुने कलेजोका साथै प्याङ्क्रियाजका जटिल शल्यक्रियामा नेतृत्व गरिरहेका कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन् । अत्यधिक मदिरा सेवन गरेकै कारण नुवाकोट निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको डा। भण्डारीले जानकारी दिए । ‘२७ गते शल्यक्रिया गरेर कलेजो प्रत्यारोपण गरेपश्चात् उनलाई दुई साता आईसीयूमा राखेर वार्डमा सारिएको थियो,’ उनले भने, ‘हामीले उहाँलाई बिहीबार डिस्चार्ज गर्दै छौं ।’

उनले त्रिविमै जनरल सर्जरीमा एमसीएच गरेर कलेजो प्रत्यारोपण तथा प्याङ्क्रियाज शल्यक्रियाका लागि अस्ट्रेलियाको मेलबर्नस्थित रोयल अस्ट्रेलियन कलेज अफ सर्जन्सबाट फेलोसिप प्राप्त गरेका थिए । नेपाल फर्किएसँगै उनले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गरेका हुन् । ‘हाम्रो जनशक्तिबाट प्रत्यारोपण गर्न सफल भएपछि मात्रै यो दिगो हुन्छ,’ उनले भने, ‘त्यसैले यो सफलता सबैको हो । एक्लो प्रयासले मात्रै यति ठूलो शल्यक्रिया सफल बनाउन सकिँदैन ।’ उनका अनुसार सामान्य अवस्थामा पनि कलेजो प्रत्यारोपण गर्न १० घण्टाभन्दा बढी समय लाग्छ । यस्तोमा डोनर (दाता) र रिसिपियन्ट (प्रापक) दुवैको शल्यक्रिया ११ घण्टामा सक्नुलाई ठूलो सफलता मानिन्छ । ‘कलेजोको प्रत्यारोपण कठिन छ, त्यहाँ धेरै प्रकारका स–साना नसा हुन्छन् र अत्यधिक रक्तस्रावको जोखिम सधैं रहन्छ,’ उनले भने, ‘यो प्रत्यारोपणका लागि पनि करिब १५ युनिट विभिन्न प्रकारका रगतको आवश्यकता परेको थियो ।’

त्रिवि शिक्षण अस्पतालमा सबै प्रकारका उपचार सेवा रहेकाले पनि प्रत्यारोपण सहज भएको डा। भण्डारी बताउँछन् । ‘शल्यचिकित्सक, एनेस्थेसिया, सघन उपचार विज्ञ, नर्सिङ स्टाफ, इन्टरभेन्सनल रेडियोलोजी, रगत बैंक सबैको समूहगत प्रयास नभएसम्म यति ठूलो शल्यक्रिया गर्न सकिन्न,’ उनले भने, ‘हाम्रो टोलीले सहयोग लिएर १० वटा प्रत्यारोपण गरेको अनुभवले पनि अब आफैं गर्न सकिन्छ भन्नेमा पुगेका हौं ।’ शिक्षण अस्पतालमा नेपाली चिकित्सकबाटै महिनाको एउटा प्रत्यारोपण गर्ने लक्ष्य राखेको उनले बताए । नेपालमा प्रत्यारोपण गर्न २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुन्छ । यही शल्यक्रिया भारतमा गर्दा कम्तीमा करोड खर्चिनुपर्छ ।

डा. भण्डारीका अनुसार नेपालमा यकिन तथ्यांक नभए पनि जनसंख्याको अनुपात र उपचारका लागि आउने बिरामीको संख्या हेर्दा वार्षिक दुईदेखि तीन सय जनालाई प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ । ‘नेपालमै विज्ञ जनशक्ति थपिएर प्रत्यारोपणको संख्या बढेमा एक त बिरामीलाई सहज हुन्छ, अर्को देशको ठूलो धनराशि विदेशिनबाट जोगिन्छ,’ उनले भने । अल्का अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ डा। अनन्त श्रेष्ठ नेपाली चिकित्सकको मात्रै संलग्नतामा सफल प्रत्यारोपण हुनु कोसेढुंगा भएको बताउँछन् । ‘अब बल्ल नेपालमा वास्तवमै कलेजो प्रत्यारोपण हुन्छ भन्न सकिने अवस्था आयो,’ उनले भने, ‘यो त्रिवि शिक्षण अस्पतालका लागि मात्रै नभएर नेपालको स्वास्थ्य क्षेत्रकै लागि गर्व गर्न लायकको पल हो ।’

नेपालमा पहिलो पटक २०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका प्रत्यारोपण शल्यचिकित्सकसहितको ७ विज्ञ टोलीले कलेजो प्रत्यारोपण गरेको थियो । त्रिवि शिक्षण अस्पतालमा भने २०७६ जेठ १७ गते पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो, जसका लागि भारतको अपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञसहितको टोली नेपाल आएको थियो । त्यसयता शिक्षण अस्पतालमा १० जनाको कलेजो प्रत्यारोपण गरिएको छ । बाँकी ९ वटा प्रत्यारोपणका लागि भारतकै फोर्टिस अस्पतालका विज्ञले सहयोग गरेका थिए ।

विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपण २०७३ सालयता नेपालमा सुरु भए पनि विदेशी विज्ञहरूको भर पर्नुपर्ने बाध्यता छ । मानव अंग प्रत्यारोपण केन्द्रबाहेक चितवनस्थित सीएमसी अस्पताल तथा ललितपुरस्थित किस्ट अस्पतालमा पनि कलेजो प्रत्यारोपण भएका थिए । त्यहाँ पनि भारतकै विशेषज्ञको सहयोग लिइएको थियो । सीएमसीमा भने केही समययता कलेजो प्रत्यारोपण हुन सकेको छैन । हालसम्म मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म १८ जनाको कलेजो प्रत्यारोपण गरिएको छ ।
साभारः कान्तिपुर दैनिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्