लमजुङ अस्पतालमा ब्लड बैँक सञ्चालन

सर्वज्योति
  • ख-
  • ख+

२२ माघ । बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरस्थित लमजुङ अस्पतालमा रक्त सञ्चार केन्द्र अर्थात ब्लड बैक सेवा सञ्चालनमा आएको छ । अस्पतालमा दैनिक जसो रगतको आवश्यकता हुन थालेपछि सो व्यवस्थापनका लागि अस्पतालले शुक्रबारदेखि औपचारिक रुपमा रक्त सञ्चार केन्द्र सञ्चालन गरेको हो ।

अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी र विरामीहरुलाई आवश्यकता अनुसार थप सहजताका लागि ब्लड बैँक स्थापना गरी सञ्चालन गरीएको अस्पताल प्रमुख एवं मेसु डा. विशाल तिवारीले जानकारी दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरीजङ तामाङको अध्यक्षता एवं पुर्व मन्त्री तथा नेकपा माओबादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी रक्तसञ्चार केन्द्र शुरुवात भएको हो ।

रक्तसञ्चार सेवाको औपचारिक उद्घाटन संगै शुक्रबार खुल्ला रक्तदान कार्यक्रम पनि भएको थियो । कार्यक्रममा नौ जनाले रक्तदान गरेका थिए । यसअघि एचडिसिएसको व्यवस्थापनमा सञ्चालित सो अस्पतालमा ६० प्याक क्षमताको रक्त सञ्चार केन्द्र सञ्चालन भएपनि प्राविधिक उपकरण जिर्ण भईसकेकोले आवश्यक मर्मत तथा व्यवस्थापन गरी ब्लड बैक सञ्चालन गरीएको अस्पतालले जनाएको छ ।

यसअघि स्थापना भएको रक्तसञ्चार केन्द्र अस्पतालमा उल्लेख्य मात्रामा रगत खपत नहुँदा प्रभावकारी कार्यन्वयनमा आउन सकेको थिएन । अस्पतालमा रगत खपत नभएको र रक्तसञ्चार केन्द्रको उपकरण पुरानो भएकोले मर्मत र आवश्यक केहि उपकरण थप गरी सेवा प्रवाहलाई निरन्तरता दिन लागिएको मेसु डा. तिवारीको भनाई छ ।

जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र नहुँदा अस्पतालमा रगत चाहिएको अवस्थामा विरामीका आफन्त रगत खोजिमा छट्पटाउने गरेका थिए । रगत आवश्यक परेका अवस्थामा अस्पतालमा कतिपय बिरामीको सम्वन्धीत आफन्त वा स्वयंसेवी रुपमा रक्तदाताहरुले रक्तदान गर्दै आएका थिए । अव व्लड बैँक सञ्चालनमा आएसँगै विरामी वा आफन्तलाई रगतको समस्या नहुने अपेक्षा गरीएको छ ।

जिल्लामा प्रभावकारी रुपमा रक्तदान सम्वन्धी उत्प्रेरणाको कार्यक्रम सञ्चालन नहुदा रक्तदाताहरुको अझै अभाव छ । ब्लड बैँक स्थापनासँगै विभिन्न क्लव, समुदाय, क्याम्पस एवं विद्यालयहरुमा रक्तदान सम्वन्धी उत्प्रेरणामुलक कार्यक्रमहरु पनि सञ्चालन गरीने अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीका अनुसार रक्तदान नगेरमा व्यक्तीको शरिरमा भएको रगत स्वतः खेर जाने गर्छ । कतिपय मानिसहरु कमजोर हुने डरले तथा बिभिन्न कारणले रक्तदान गर्न डराउछन । युवाहरुमा रक्तदान सम्वन्धी अझै चेतना तथा उत्प्रेरणाको आवश्यकता देखिएको अस्पतालले जनाएको छ ।

साभारः मर्स्याङदी समाचार

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्