गण्डकी प्रदेशमा दादुरा-रूबेला खोप अभियानमा ५ हजार बढी स्वयंसेविका परिचालन हुने

सर्वज्योति
  • ख-
  • ख+

स्वास्थ्य निर्देशनालय गण्डकीले फागुन १३ देखि चैत ७ गतेसम्म दादुरा-रूबेला खोप अभियान संचालन गर्ने भएको छ।

अभियान सफल पार्न गण्डकीका ९ वटा जिल्लामा ५ हजार ७ सय ७८ जना स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्माले जानकारी दिए।

उनका अनुसार गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा दोस्रो चरणमा खोप अभियान संचालन गरिनेछ। मनाङ र मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न बेसी झरेका कारण दोस्रो चरणमा खोप अभियान चलाइने भएको हो।

गण्डकीका अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ भने नवलपुरमा १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइनेछ। भारतसँग सिमाना जोडिएको नवलपुरमा दादुरा रूबेला रोगको उच्च जोखिम भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने निर्णय गरेको महानिर्देशक पौडेलले बताए।

‘नवलपुरमा जनघनत्व पनि बढी छ, भारतमा यो रोग धेरै फैलिएकाले सिमाना जोडिएको नवलपुरमा पनि छिटो फैलिन सक्छ,’ उनले भने, ‘त्यही भएर हामीले नवलपुरमा १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने निर्णय गरेका हौं।’

खोप लगाउन गण्डकीमा २ हजार ८ सय ८९ वटा खोप केन्द्र संचालन गरिनेछ। जहाँबाट प्रदेशका २ लाख ५३ हजार ३५ जना बालबालिका लाभान्वित हुनेछन्। खोप लगाउन प्रदेशभर २ हजार ८ सय ८९ जना स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलले बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका १८ वटा जिल्लामा दादुरा रूबेला महामारी फैलिएर १ हजार ३ सय जना संक्रमित भएका थिए। जसमा गण्डकीका १७ जना छन्। गत पुसमा तनहुँमा दादुरा रूबेला महामारी फैलिएको स्वस्थ्य निर्देशनालयका जनस्वास्थ्य निरिक्षक विष्णुप्रसाद सुवेदीले बताए।

‘एक जनालाई दादुरा रूबेला लागेमा १८ जनालाई सार्न सक्छ, यसको फैलावट गति तिव्र हुन्छ,’ उनले भने, ‘अहिलो खोप लगाउँदा जीवनभर दादुरा रूबेला रोगले छुँदैन।’

सरकारले २०२६ सम्म नेपालमा दादुरा रूबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको छ। सन् २००४ बाट नेपालमा उक्त खोप लगाउन थालिएको हो। ४(४ वर्षमा दादुरा रूबेला विरूद्धको खोप अभियान चलाउने गरेको प्रदेशका खोप फोकल पर्सनसमेत रहेका सुवेदीले बताए। उनका अनुसार दादुरा रूबेला विरूद्ध २ डोज खोप लगाएपछि यसको मात्रा पुरा हुन्छ।

दादुरा रूबेला विरूद्धको खोपले बालबालिकाको स्वास्थ्यमा कुनै असर नपार्ने भएकाले सबै बालबालिकालाई सहभागी गराउन सुवेदीले आग्रह गरे।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्