लमजुङका पाँच स्थानीय तहमा दादुरा–रुबेला खोप अभियान सुरु

सर्वज्योति
  • ख-
  • ख+

१३ फागुन । लमजुङका पाँच स्थानीय तहमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । देशभर फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्र्तगत लमजुङमा भने आजदेखि पाँचवटा स्थानिय तहहरुमा मात्रै दादुरा रुबेला खोप अभियान सञ्चालन भएको हो ।

अभियानको आइतबार लमजुङ सदरमुकाम बेसीशहरमा एक कार्यक्रमको आयोजना गरि सुभारम्भ गरिएको छ । बेसीशहर ७ मा रहेको किडजोन मन्टेश्वरी स्कुलमा आयोजित एक औपचारिक कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुना रिमाल, बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङ, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनाल लगाएतको उपस्थिती थियो ।

कार्यक्रमलाई संबोधन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङले अभियानमा कोही पनि बालबालिका छुट्न नहुने बताउनुभयो । दादुरा–रुबेला निवारणका लागि सवैले आ आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख बुना कुमारी रिमालले यस अभियानलाई सफल पार्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र अभिभावको भुमिका महत्वपूर्ण रहने बताउनुभयो । बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङले बेसीशहर बजारमा डेरा गरि बस्ने सबै बालबालिकाको तथ्याङ्क संकलन गरेर उनिहरुलाई खोजी खोजी अभियानमा सरिक गराउनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आफ्नो गाउँ टोल, छर छिमेक र आफन्तलाई समेत यो अभियानमा सरिक बनाउन सरोकारवाला सवैले भुमिका निर्वाह गर्नुपर्ने वताउनुभयो । भोलिका पुस्तालाई स्वस्थ राख्नका लागि यो अभियान सञ्चालन भएको बताउँदै यसलाई सफल पर्ने जिम्मा सम्पुर्ण लमजुङबासीको रहेको बताउनुभयो ।

८ वटा पालिका रहेको लमजुङमा आइतबारदेखि ५ वटा पालिकामा खोप अभियान सुरु भएको हो । स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियान बेसीशहर नगरपालिकामा आगामी १८ गतेसम्म सञ्चालन हुनेछ । मस्र्याङदी, दोर्दी र दुधपोखरी गाउँपालिकामा १३ देखि १६ गतेसम्म र सुन्दरवजार नगरपालिकामा फागुन १३ देखि १७ गतेसम्म सञ्चानल हुनेछ ।

क्होलासोँथार गाउँपालिका र राईनास नगरपालिकामा २१ गतेदेखि २४ गतेसम्म र मध्यनेपाल नगरपालिकामा २२ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालले बताउनुभयो ।

अभियान अन्तर्गत जिल्लाका ९ महिनादेखि ५ वर्षमुनिका ९ हजार ८ सय १५ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । नियमित खोप सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालनका लागि ३ सय भन्दा बढी जनशक्ति परिचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानमा महिला स्वास्थ्य स्वयम्सेविका, पालिकामा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी परिचालन गरिएको गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्ने, खोप लगाएको ठाउँमादुख्ने, रातो हुने वा सुनिन्न सक्ने लक्षण देखा परेपनि यस्ता सघटनालाई स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने भएकाले आफ्ना बालबालिकालाई खोप अभियानमा सरिक भएर खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । एचआईभी एड्सका लक्षण देखा परेमा, उच्च ज्वरो अथवा सिकिस्त बिरामी भएमा र उपचार सुरु नगरेका क्षयरोगका बिरामीले खोप लगाउन नहुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
साभारः मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्