नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयले सुरू गर्‍यो ”हेल्लो हेल्थ” सेवा

सर्वज्योति
  • ख-
  • ख+

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरू गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो।

‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं,’ मन्त्री पौडेलले भने, ‘तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला।’

अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरू टेलिफोन, ह्वाट्स एप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् ।

टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन्।

यसैगरी भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत् पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ। यसैगरी, इमेलमार्फत् हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपी मा गुनासा पठाउन सकिनेछ।

मन्त्री पौडेलले मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डाक्टर अनुप बाँस्तोलाको संयोजकत्वमा गत मंसिर १४ गते एकाइ गठन गर्ने निर्णय गरेका थिए। सोही एकाइले हेल्लो हेल्थ एकाइका लागि आवश्यक तयारी गरेर सेवा आरम्भ गरेको हो।

मन्त्रालयले गठन गरेको समितिमा सूचना अधिकारी डा। भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन्।

यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरू माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?