जाडो याममा कस्ता खाना खाने ?

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । शरीरलाई जाडो याममा न्यानो र ऊर्जावान् राख्न पौष्टिक तथा तातो खाना आवश्यक हुन्छ । यस्तो मौसममा प्रोटिनयुक्त खाना बढी खानु राम्रो हुन्छ । तातो खाद्यान्नले ‘हिट जेनेरेसन’ गर्छ । यसले गर्दा शक्ति खपत बढी हुन्छ । भोक छिटो लाग्छ । खाना पनि बढी रुच्छ ।

कार्बोहाइड्रेटजन्यभन्दा प्रोटिन र फ्याटयुक्त खानेकुरा खानु राम्रो हुन्छ । यस्ता खानेकुरा पच्न लामो समय लाग्छ । खाना पच्दा यसले शक्ति प्रदान गर्छ । त्यसो हुँदा शरीर भित्रबाट तातो हुन्छ । यसले रुघाखोकीबाट जोगाउँछ । जाडो समयमा तातो, झोलिलो, प्रोटिनयुक्त, सिजनअनुसार तरकारी, फलफूल आदि खानेकुरामा ध्यान दिनुपर्छ । स्वस्थ रहन दैनिक व्यायाम र राम्रो निद्रा पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले यसतर्फ पनि ध्यान पुर्‍याउनुपर्छ ।

कार्बोहाइड्रेट प्रोटिनको तुलनामा छिटो पच्ने हुन्छ । र, कार्बोहाइड्रेटले शक्ति प्रदान गर्छ । तर, प्रोटिन ढिलो पच्ने भए पनि शक्ति प्रदान गरिरहेको हुन्छ । यसले शरीरलाई न्यानो बनाउँछ । कार्बोहाइड्रेटजन्य खाद्यान्न छिटो पच्ने हुन्छ । यसले छिटो भोक लाग्छ ।

प्रोटिनयुक्त खानाः दाल, मासु, माछा, अन्डा, दूधजस्ता प्रोटिनयुक्त खाना खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्छ । झोलिलो खाना (जस्तैः मासु वा कुखुराको सुप, गेडागुडीको सुप, क्वाँटी) निकै फाइदाजनक हुन्छ ।

घिउ र तेलयुक्त खाना
घिउ हालेर बनाएको खाना (जस्तैः ढिँडो, सुप वा हरियो तरकारी) खाँदा फाइदा हुन्छ । स्वस्थ फ्याट स्रोतका रूपमा तोरीको तेल, तिलको लड्डु, काजु, बदाम खानुपर्छ । यी खानामा भरपुर प्रोटिन, फ्याट र फाइबर पाइन्छ ।

फलफूल र नट्स
बदाम, काजु, किसमिस, ओखरले ऊर्जा दिन्छन् । शरीरलाई तातो राख्छ ।

हरियो सागपात र मौसमी तरकारी
पालुंगो, तोरीको साग, मेथी, ब्रोकाउलीलगायत सागसब्जीमा फाइबर, भिटामिन र खनिज तत्त्व पाइन्छ । यो याममा मौसमी तरकारी खानु उपयुक्त हुन्छ । यसमा भिटामिनहरू पाइन्छ । फूलगोभी, मुला, गाजरलगायत तरकारी खानु उपयोगी हुन्छ ।

तातो पानी वा जुस
जाडोमा प्यास कम लागे पनि पर्याप्त मात्रामा तातो पानी वा जुस पिउनु उपयुक्त हुन्छ । भिटामिन ‘सी’युक्त फलफूल सुन्तला, किवी र जामुन खानाले प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

खानेकुराको मात्रा
खानेकुराको मात्रा व्यक्तिअनुसार फरक–फरक हुन्छ । सामान्यतः एक जना व्यक्तिलाई एक सय क्यालोरी आवश्यक पर्छ । कार्बोहाइड्रेट ४० देखि ४५ अनि फ्याट वा तेल २० प्रतिशत उपयुक्त हुन्छ । बाँकी २० देखि ३५ प्रतिशत प्रोटिन खानुपर्छ ।

(पोषणविद् संजिता श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)
साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?