
तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका अन्तर्गत सचालित बन्दीपुर अस्पतालको प्रमुखको जिम्मेवारी डा. अनिल गिरीले सम्हालेका छन् । व्यास नगरपालिका वडा नंं ५ पाटनका बासिन्दा डा. गिरीले सोमबारबाट अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेका हुन् । यसभन्दा अगाडि सुनसरीको चतरा अस्पतालमा कार्यरत डा. गिरीले प्रदेश लोक सेवा आयोगको सिफारिस नवौं तहमा मेडिकल सुपरिटेन्डेन्टको स्थायी नियुक्ति लिई बन्दिपुर अस्पतालमा आएका हुन् । आयोगले स्थायी नियुक्तिको निर्णय गर्दै उनलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
लामो समयदेखि स्थायी मेसु पद रिक्त रहेकोले डा. गिरीको नियुक्ति पश्चात अस्पतालको सेवा प्रवाह अझ चुस्त दुरस्त हुने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताएका छन् । तनहुँको २०२२ सालमा स्थापना भएको बन्दीपुर अस्पतालमा हाल १५ शैयाको क्षमता रहेको छ। अस्पतालमा हाल ४ जना डाक्टरहरूको टिमले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । दाँत तथा आँखाको उपचार, आकस्मिक सेवा, सुत्केरी सेवा, वृद्धा तथा अपाङ्ग र अति विपन्नलाई निःशुल्क उपचार, एम्बुलेन्स सेवा, माइनर अपरेशन, फार्मेसी, ल्याब, भिडियो एक्सरे र एक्सरेजस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।
तस्विरः उद्धघोष न्युज