
पूर्वयुवराज पारस शाहलाई आइतबार हृदयाघात भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भए। चिकित्सकका अनुसार शाहलाई योसहित चौथो पटक हृदयाघात भएको हो।
यसरी पटक-पटक हृदयाघात हुनु कति खतरनाक हुन सक्छ ?
एक पटक हृदयाघात भइसकेको बिरामीलाई दोहोरिने सम्भावना उच्च हुन्छ । त्यसैले बिरामीहरू सचेत हुनुपर्छ । चिकित्सकले दिएको औषधि छुटेको छ भने त यस्तो सम्भावना झन् बढी हुन्छ ।
मुटुको रक्त प्रवाहित गर्ने धमनीहरूमा रोकावट आउँदा त्यहाँ रक्त सञ्चार अवरुद्ध हुन्छ । जसकारण मांसपेशीहरू मर्न थाल्छन् र मुटुको क्रिया प्रभावित हुन्छ । यसैलाई हर्ट अट्याक अर्थात् हृदयाघात भनिन्छ । हृदयाघात आकस्मिक दुर्घटना हो । हृदयाघात हुनु भनेको मुटुको कार्य सञ्चालनमा अकस्मात् अवरोध पैदा हुनु हो ।
एक व्यक्तिलाई कति पटक सम्म हृदयाघात हुनसक्छ ?
एक व्यक्तिलाई कति पटक हृदयाघात हुन सक्छ भन्ने प्रश्न धेरैको मनमा हुनसक्छ । सामान्यतया, एक व्यक्तिलाई उसको जीवनमा तीन पटक सम्म हृदयाघात हुनसक्छ । केही व्यक्तिमा कम वा बढी पनि हुनसक्छ ।
पहिलो र दोस्रो हृदयाघातपछि, सही समयमा उपचार गरियो र जीवनशैली सुधारियो भने, व्यक्ति बाँच्न सक्छ । तर तेस्रो हृदयाघातपछि मुटु निकै कमजोर हुन्छ र चौथो हृदयाघात हुँदा मृत्युको जोखिम झन् बढ्न सक्छ ।
पटक-पटक हृदयाघात हुनु कति खतरनाक ?
पटक(पटक हृदयाघात हुनु निकै खतरनाक हुन्छ । यदि पहिलो दोस्रो हृदयाघातपछि व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ख्याल राखेनन् र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेनन् भने तेस्रो तथा चौथो पटक हृदयाघात हुने सम्भावना बढ्छ र व्यक्तिको ज्यान समेत जाने खतरा बढ्छ ।
पटक-पटक हुन सक्ने हृदयाघातको जोखिम कम गर्ने उपाय
चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने
मुटु, कोलेस्टेरोल र रक्तचापका औषधिहरू मुटु स्वास्थ्यको महत्त्वपूर्ण भाग हो । यी समस्यालाई नियन्त्रणमा राख्न चिकित्सकको सल्लाहअनुसार औषधिको सेवन गर्नैपर्छ । उच्च रक्तचाप, मुटुको समस्या भएका व्यक्तिले चिसकत्सकले बोलाएको समयमा फलोअपमा पनि जानुपर्छ ।
मधुमेह नियन्त्रण गर्ने
मधुमेह नियन्त्रणमा छैन भने पुनः हृदयाघात हुने सम्भावना उच्च हुन्छ । ब्लड सुगर नियन्त्रणमा भयो भने कोरोनरी धमनीहरूमा क्षति हुन पाउँदैन । यसले रक्त नलीहरूलाई साँघुरो हुनबाट पनि रोक्न सक्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्ने
हृदयाघातलाई दोहोरिने जोखिम कम गर्न रक्तचापलाई पनि नियन्त्रणमा राख्नुपर्ने हुन्छ । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गरेर र जीवनशैली परिवर्तन गरेर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ ।
कोलेस्टेरोल नियन्त्रण गर्ने
कोलेस्टेरोल नियन्त्रण गर्न खराब खानपानशैली परिवर्तन गर्नुका साथै नियमितरुपमा व्यायाम पनि गर्नुपर्छ । खानपान र व्यायाम गर्दा पनि कोलेस्टेरोल नियन्त्रण भएको छैन भने चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । कोलेस्टेरोल नियन्त्रणमा राखेर पनि हृदयाघातको जोखिमलाई कम गर्न सकिन्छ ।
तौल नियन्त्रण गर्ने
मोटोपनले दोस्रो हृदयाघातको जोखिम बढाउँछ । तौल नियन्त्रणमा राख्न चिकित्सकको सल्लाह लिनुपर्छ । बडी मास इन्डेक्स ९बीएमआई०ले स्वस्थ मानिसको उचाइअनुसारको वजन कति हुनपर्छ भन्ने जनाउँछ।
बीएमआई निकाल्नका लागि मानिसको उचाइ मिटरमा र तौल किलोमा नाप्नुपर्छ । अब उचाइमा आएको मिटरलाई दुई पटक गुना गरेपछि आउने प्रतिफलले तौललाई भाग गर्दा आउने अङ्क बडी मास इन्डेक्स हो ।
स्वस्थ खानपान अपनाउने
स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट घटाएर खराब कोलेस्टेरोल र ट्राइग्लिसराइड स्तर कम गर्न सकिन्छ । यिनीहरू हृदयाघात निम्त्याउने प्राथमिक कुरामध्ये एक हुन् । यस्ता खराब फ्याट कम गर्न धेरै तारेको, भुटेको र प्याकेट बन्द खानेकुरा कम सेवन गर्नुपर्छ । यस्ता खानेकुरालाई दैनिक आहारबाट हटाएर हृदयाघातको जोखिमबाट बच्न सकिन्छ।
नियमित व्यायाम गर्ने
हृदयाघातको जोखिम कम गर्न व्यायाम महत्त्वपूर्ण छ किनभने यसले हृदयको मांसपेशीलाई बलियो बनाउँछ । साथै यसले ऊर्जाको स्तर बढाउँछ र तौल व्यवस्थापन, कोलेस्टेरोल र रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ ।
मुटुलाई स्वस्थ राख्न र हृदयाघातको जोखिमबाट बच्न दैनिक कम्तिमा ३० मिनेट हिँड्नु राम्रो हुन्छ । पहिले हृदयाघात भइसकेको व्यक्तिले व्यायाम गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।
मानसिक स्वास्थ्यमा ध्यान दिने
डिप्रेसन, तनाव, चिन्ता र क्रोधले मुटु र समग्र स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । त्यसैले मानसिक समस्याबाट बच्न तनावलाई व्यवस्थापन गर्नुपर्छ । पर्याप्त मात्रामा निदाउनुपर्छ । केही समस्या देखा परे चिकित्सकको सल्लाह लिनुपर्छ ।
धूम्रपान छोड्ने
धूम्रपान नगर्दा हृदयाघातको जोखिमलाई आधा घटाउन सकिन्छ । त्यसैले हृदयाघातबाट बच्न धूम्रपान छोड्नै पर्छ । त्यसका लागि धूम्रपान छोड्न मद्दत गर्ने औषधिहरूको बारेमा चिकित्सकसँग सल्लाह गर्न सकिन्छ ।
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ
अनलाईन खबर