लागूऔषध मुद्दामा पाल्हीनन्दका अध्यक्ष गुप्तालाई १ वर्ष कैद, २ लाख जरिबाना

सर्वज्योति
  • ख-
  • ख+

रुपन्देही । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले लागूऔषधसम्बन्धी मुद्दामा १ वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र ८ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

अघिल्लो साताको बुधवार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तालाई दोषी ठहर गरेको थियो । बिहीबार भएको सजाय निर्धारण फैसलाअनुसार गुप्तालाई जरिवानासहित कारागार चलान गर्ने निर्णय गरिएको छ ।

यसै मुद्दामा नगरप्रहरी रघुनाथप्रसाद धोबीलाई २ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । धोबी यसअघि पनि लागूऔषध मुद्दामा दोषी ठहर भइसकेकाले थप १ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय पनि उनलाई भुक्तान गर्नुपर्ने अदालतले निर्धारण गरेको छ । धोबी २०७९ असोज २६ देखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

अदालतले यस प्रकरणका अन्य दुई अभियुक्त रामा गुप्ता ९रामा साह० र जितेन्द्र पासवानलाई भने सफाइ दिएको छ । अध्यक्ष बैजुप्रसाद गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

घटनाका विवरणअनुसार, २०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जितेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो ।

गुप्ताको निर्देशनमा रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जितेन्द्र चढेको मोटरसाइकल नजिक लागूऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो । बरामद भएको लागूऔषधमा ९० थान डाइजेपाम, नुर्फिन र फेनार्गनका एम्पुल रहेको उल्लेख छ ।

यस प्रकरणले गाउँपालिकाको प्रशासनिक अखण्डतामा प्रश्न उठाएको छ । अदालतको फैसलाले नेतृत्वकर्ताहरूले कानूनको पालना गर्नुपर्ने आवश्यकता र समाजमा कानूनको शासन कायम गर्नुपर्ने सन्देश दिएको छ ।

 साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?