तनहूँ । तनहूँ समाज हङकङद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’का लागि जिल्लाका दुई क्रियाशील पत्रकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आइतबार मिडिया भिलेज दमौलीमा बसेको बैकठले उक्त पुरस्कारका लागि पत्रकारद्वय नारायण खड्का र अमरराज नहर्कीलाई सिफारिस गरेको छ ।
उक्त पुरस्कार समाजले स्थापना दिवस यही भदौ १५ गते ९अगष्ट ३१ तारिखमा प्रदान गर्ने जनाएको छ । पत्रकार खड्का नेपाल पत्रकार महासंघ तनहूँ शाखाका निवर्तमान उपाध्यक्ष,सगरमाथा टेलिभिजनको तनहूँ संवाददाता तथा भञ्ज्याङ दैनिकमा आवद्ध छन् भने पत्रकार नहर्की गोरखापत्रको तनहूँसंवाददाता हुन् । पत्रकारद्वय खड्का र नहर्कीले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार संप्रेषण गरी योगदान पु¥याएकाले पुरस्कारका लागि पत्रकार महासंघबाट सिफारिस गरिएको हो ।
उक्त बैठकले पत्रकार महासंघ तनहूँमा आवद्ध रहेका पत्रकारहरुको सदस्यता नवीकरण भदौ २३ गतेभित्र गरिसक्नुपर्ने निर्णय गरिएको सचिव प्रताव रानाले जानकारी दिए । उनका अनुसार पत्रकारको सदस्यता नवीकरणका लागि मिडिया भिलेजमा सम्पर्क गर्नुहुन अनुरोध समेत गरिएको छ ।
जिल्लाका क्रियाशील पत्रकारहरुको व्यास नगरपालिकाको कार्यालय दमौलीले आरोग्य बिमा गरी सहयोग गरेकोप्रति पत्रकार महासंघ तनहूँले धन्यवाद ज्ञापन गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै व्यास नगरपालिकाले व्यास नगर विकास पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई पुरस्कृत गरेकोमा पत्रकार महासंघ तनहूँले आभार तथा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै पत्रकार महासंघ तनहूँले पत्रकार दिवाकर भण्डारीकी धर्मपत्नी एवं सञ्चारकर्मी सुनिता डोटेल भण्डारीको उपचारार्थ संकलित ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । पत्रकार महासंघका साधारण सदस्य सूर्यभक्त पौडेलकी धर्मपत्नी एवं पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलकी भाउजु अप्सरा भण्डारी पौडेलको असामयिक निधन भएकाले शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ ।








