पुस मसान्तभित्र १८ वर्षमाथिका ६६ % जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा हुन सकेन । अघिल्लो सरकारले पुस मसान्तभित्र ६६ %अर्थात् एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्रामा खोप दिने घोषणा गरेको थियो । पुस मसान्त अर्थात्, शुक्रबारसम्ममा लक्षित जनसङ्ख्यामध्ये ५९.६ % ले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७८.६ % ले खोपको कम्तीमा एक मात्रा लगाएका छन् । सरकारले १८ दिन अघि दैनिक ५ लाख खोप लगाइने योजना सार्वजनिक गरेको थियो । यसका बाबजुद ६६ % जनसंख्यालाई पुस मसान्तभित्र खोप लगाइसक्ने सरकारी लक्ष्य पूरा हुन नसकेको हो ।
पुस १२ गते एकैदिन ५ लाख ६८ हजार ३ सय १९ जनालाई खोप लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसमेत दिएका थिए । त्यसपछि स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै खोप लगाउन सर्वसाधारणलाई प्रेरित गरेको थियो । यद्यपि लक्ष्यअनुसार खोप लगाउन सरकार असफल देखिएको छ ।
गता साताको तथ्याङ्क हेर्ने हो भने दैनिक ५ लाख मात्रा खोप लगाउने लक्ष्य पनि पूरा हुन सकेन । पुस २२ गते अर्थात् गत बिहीबार १ लाख २० हजार ६५३ मात्रा खोप लगाइएको थियो भने शुक्रबार २ लाख ६३ हजार ३ सय ७१ खोप लगाएको स्वास्थ्य मन्त्रालय जनाएको छ । यस्तै, शनिबार २ लाख ४३ हजार ४६० मात्रा, आइतबार ४५ हजार ४९३ मात्रा, सोमबार २ लाख १० हजार ५९४ मात्रा खोप लगाइएको थियो ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीर कुमार अधिकारी कोरोनाविरुद्धको खोप अभियान देशभर तीव्र गतिमा चलिरहेको बताउँछन् । पुस मसान्तभित्र ६६ % जनसंख्यालाई खोप लगाउने योजना सफल हुन नसके पनि बालबालिकादेखि १८ वर्ष माथिका खोप नलगाएकाहरुलाई खोप दिने अभियान देशभर तीव्र रुपमा चलिरहेको उनको भनाइ छ ।
‘देशभरका सबै खोप केन्द्रमा कोरोनाविरुद्धको खोप पुगेको छ,’ उनले भने, ‘न १८ वर्ष माथिकालाई खोपको अभाव छ, न बालबालिकाका लागि खोप अभाव छ । खोप लगाउन छुटेकाहरुले तत्काल खोप लगाउनुस् ।’ विद्यालयहरुमा १२ देखि १७ उमेर समूहका बालबालिकालाई खोप अभियान सञ्चालन भइरहेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले यसअघि स्थानीय सरकारले पूर्ण रुपमा समन्वय नगर्दा दैनिक ५ लाख खोप लगाउने लक्ष्य पूरा हुन नसकेको बताएको थियो । स्वास्थ्य मन्त्रालयको उच्च नेतृत्वले कुन जिल्ला र पालिकामा किन खोप अभियान कम भयो र कसरी कभरेज बढाउने भनेर छलफल गरी आगाडि बढेको बताउँदै आए पनि तोकेको समयमा आफ्नो लक्ष्य भेटाउन सकेन ।
यता परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका एक जनस्वास्थ्य अधिकृतका अनुसार १८ वर्ष माथिका ६६ % ले खोप लगाएको जिकिर गर्छन् । विगतमा प्राथमिकताको आधारमा खोप दिइएको कारण प्राथमिकतामा नपरेका धेरैले पहुँचमा आधारमा खोप लगाएको उनको भनाइ छ । उनी भन्छन्, ‘विगतमा पहुँचका आधारमा खोप लगाउने रेकर्ड छैन । पहिलो मात्रा पहुँचको आधारमा लगाउने, दोस्रो मात्रा प्राथमिकतामै परेर खोप लगाउने, अनि दुवै मात्रा पूरा गर्नेहरु पनि छन् ।’
खोप लगाउन धमाधम आउँदै
काठमाडौं उपत्यकामा पछिल्ला दिन कोरोनाभाइरस विरुद्धको खोप लगाउने भिड् बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता अधिकारीका अनुसार ‘खोप केन्द्रहरुमा भिड बढेकाले कसरी जनस्वास्थ्यका मापदण्ड पालना गराएर धेरैभन्दा धेरैलाई खोप लगाउने, भिड कम गर्नलाई खोपकेन्द्र विस्तार गर्ने र खोपको पहुँचमा नपुगेकालाई छिटै पु¥याउन प्रदेश, खोप जिल्ला समन्वय समिति र स्थानीय तहलाई निर्देशन दिइएको छ ।
उनले भने, ‘१२ देखि १७ वर्ष उमेर समूहकादेखि १८ वर्षमाथिका सबैलाई खोप अभियान सञ्चालन भइरहेको छ । केन्द्रबाट खोप पठाइसकिएकाले खोप लगाउन छुटेकाहरुलाई सरोकारवालाहरुले समन्वयका साथ खोप लगाउन प्रेरित गर्नुपर्छ ।’
नेपालमा कुल जनसङ्ख्या तीन करोड ३ लाख ६८ हजार ५५ छ । जसमध्ये ५१।४ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् भने ३९.१ %ले पूर्ण मात्रा खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल २ करोड ७४ लाख ७५ हजार ९९५ मात्रा खोप लगाइएको छ । जसमा कम्तीमा एक मात्रा १ करोड ५६ लाख ६२१ र दुवै मात्रा १ करोड १८ लाख ६९ हजार ९७४ जनाले लगाएका छन् ।








