व्यवसायी गोपाल हमालद्धारा धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा

  • ख-
  • ख+

नगरलाई नमुना मोडल बनाउने घोषणाा गर्दै कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताउनु भयो । उहाँले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताउनु भयो ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका हमालले आफू मेयरमा विजयी भए कुनै पनि सेवासुविधा नलग्ने घोषणा पनि गर्नुभएको छ ।सवारीसाधन आफ्नै चलाउने र इन्धन खर्चसमेत नलग्ने बताउनु भएका उहाँले मेयरका लागि दिइने अन्य सुविधा पनि नलग्ने बताउनु भएको छ ।

उहाँले मेयर भएर एक रुपैयाँ पनि नलग्ने आफू नेपालकै पहिलो जनप्रतिनिधि हुनेसमेत बताउनु भयो । ‘मलाई कुनै प्रलोभन छैन,’ उहाँले भन्नुभयो, ‘मेरो स्वार्थ भनेको धनगढीलाई नमुना मोडल बनाउने हो, त्यसका लागि जनताले एकपटक मौका दिने छन् भन्ने अपेक्षा गर्दछु ।’ उहाँले धनगढीको मेयरमा आफू अन्तिमपटक लड्नेसमेत दाबी गर्नुभएको छ ।

२०७४ मा सम्पन्न स्थानीयको निर्वाचनमा पनि हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । तर उहाँ नेपाली कांग्रेसका उम्मेदवार नृप वडसँग २८ सय मतले पराजित हुनुभएको थियो ।

मेयरमा विजयी हुनुभएका नृपबहादुर वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याउनु भएको थियो । चुनाव हारेपछि हमाल विवेकशील साझा पार्टीमा प्रवेश गर्नुभएको थियो । विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बन्नुभएका हमालले तीन दिनअघि सो पार्टीबाट राजीनामा दिनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?