११ असार । तनहुँको व्यास नगरपालिका–९ मा दलित समुदायलाई कानुनी हकअधिकार, जातीय छुवाछुत तथा विभेदविरुद्ध सचेत बनाउने उद्देश्यले तीनदिने सचेतना तालिम सुरु भएको छ। वडा कार्यालयको सहयोग तथा परिवर्तनका लागि मिडियाको आयोजनामा सञ्चालन भएको तालिममा वडाका ३५ जना दलित समुदायका प्रतिनिधिहरू सहभागी छन्।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष सुरेश थापाले नेपालको संविधान र कानुनले जातीय आधारमा हुने छुवाछुत तथा विभेदलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको उल्लेख गर्दै यस्ता घटनाविरुद्ध सबै नागरिक सजग र एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले पीडितले आफ्ना अधिकारको प्रयोग गर्दै न्याय प्राप्तिका लागि निर्भीक रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
वडा सदस्य सन्तोष जिसीले समाजमा जातीय विभेदका घटनामा कमी आए पनि पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै सबै नागरिकलाई समान व्यवहार सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले सामाजिक न्याय र समानताको वातावरण निर्माणमा सबैको साझा जिम्मेवारी रहने बताउनुभयो।
कार्यक्रममा गजौडे टोल विकास संस्थाका अध्यक्ष शुक्रजंग अधिकारी र काजिफाँट टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रराज खनालले जातीय विभेदले सामाजिक एकता र विकासमा बाधा पुर्याउने भएकाले यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँहरूले समाजमा समानता, सद्भाव र आपसी सम्मानको संस्कृतिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
उद्घाटन सत्रको अध्यक्षता व्यास नगर कार्यपालिका सदस्य ज्ञानु सुनारले गर्नुभएको थियो। उहाँले कानुनी रूपमा छुवाछुत निषेध भए पनि व्यवहारमा अझै केही स्थानमा विभेद देखिनु चिन्ताजनक रहेको बताउँदै शिक्षा, सचेतना र कानुनी जानकारी नै यसको दीर्घकालीन समाधान भएको उल्लेख गर्नुभयो।












