तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा जिप दुर्घटना हुँदा ९४ वर्षीय वृद्धसहित ६ जना घाइते भएका छन्।
बिहीबार (२०८३ कात्तिक २६ गते) दिउँसो करिब ४:१५ बजे दुलेगौडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको बोलेरो जिप दुलेगौडा–चिसापानी सडकखण्डबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा जिपमा सवार चालकसहित ७ जनामध्ये ६ जना घाइते भएका हुन्। घाइते सबैलाई उपचारका लागि तनहुँ सेवा अस्पताल, दुलेगौडा पठाइएको प्रहरीले जनाएको छ। जिपमा सवार एक जना भने सकुशल रहेको र आफ्नो गन्तव्यतर्फ गएको बताइएको छ।
घाइते हुनेमा स्याङ्जाको हरिनास गाउँपालिका–१ खैरीकोटका ३२ वर्षीय जिप चालक शिवबहादुर गुरुङ, २९ वर्षीय अमरबहादुर गुरुङ, ९४ वर्षीय रनबहादुर गुरुङ, ३९ वर्षीया निशा राना, ४८ वर्षीय चन्द्रबहादुर गुरुङ र ३४ वर्षीय मिलन गुरुङ रहेका छन्।







