दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २०८३ कात्तिक २० गते पृथ्वीराजमार्गअन्तर्गत बेनिटारमा खटिएको प्रहरी टोलीले सवारीसाधन तथा शंकास्पद व्यक्तिहरूको चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।

चितवनबाट पोखरातर्फ आउँदै गरेको हाइसमा सवार म्याग्दीको रघुगंगा गाउँपालिका–४ निवासी २७ वर्षीय युवकले लुकाइछिपाइ ल्याएको ४४.२ ग्राम प्रतिबन्धित लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषधसहित पक्राउ परेका युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।