काठमाडौँ । ‘नेशनल म्युजिक अवार्ड’को ८औँ संस्करण यही असार २६ गते आयोजना हुने भएको छ । अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ।
ललितपुरको पुल्चोकस्थित द प्लाजामा अवार्ड हुने आयोजक रेडियो कान्तिपुरले मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
अवार्डमा जोन एण्ड द लोकल्स देखि दिपक बज्राचार्यसहित अन्य चर्चित कलाकारहरू उजन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ।
अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायकरगायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह, उत्कृष्ट हिपहप र आर।एन।बि तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन्।
त्यस्तै गीत सङ्गीतसहित कलाको क्षेत्रमा लामो समय देखि सेवा पुर्याउँदै आएका व्यक्तित्वलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ।
सो पुरस्कारको राशी १ लाख रुपैयाँ रहनेछ । स्रोताको समेत सहभागिता रहने पिपुल्स च्वाइस अवार्ड रहनेछ । यसका लागि सहभागीले ई सेवामार्फत भोट गर्नुपर्नेछ। सर्वाधिक भोट प्राप्त गर्ने गीत र स्रष्टालाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ ।
२०८२ वैशाख १ गते देखि २०८२ चैत्र मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूबाट विभिन्न विधा अन्तर्गत उत्कृष्टमध्ये ५ जनाको मनोनयनका लागि तीन जनाको जुरि बनाइएको थियो । विभिन्न विधाका मनोनयन सोही जुरीको निर्णय अनुसार गरिएको हो ।
साभारः रातोपाटी डट कम















