काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीको मुख्य कारण तिब्बती क्षेत्रमा गएको हिमपहिरो, त्यसले हिमताल प्रणालीमा पारेको विचलन र त्यसबाट उत्पन्न असामान्य जलप्रवाह रहेको प्रारम्भिक प्राविधिक विश्लेषण सार्वजनिक भएको छ।

१६ दिनसम्म घटनास्थलमा बसेर स्थलगत निरीक्षण तथा अध्ययन गरेपछि गरिएको प्रारम्भिक विश्लेषणअनुसार बाढीका क्रममा ठूलो मात्रामा पानी एकैपटक मुक्त हुँदा नदी प्रणालीमा अत्यधिक ऊर्जा उत्पन्न भएको थियो। त्यसले सामान्य बाढीभन्दा फरक उच्च वेग र ठूलो परिमाणको ढुङ्गा–माटोसहितको ‘डेब्रिस फ्लो’ सिर्जना गरेको निष्कर्ष निकालिएको छ।

प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीको बहाव गति माथिल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्र थियो। सबैभन्दा माथिल्लो तटीय क्षेत्रमा बहावको गति करिब १८८ किलोमिटर प्रतिघण्टा पुगेको अनुमान गरिएको छ। त्यस्तै, रसुवागढीदेखि स्याफ्रुबेसीसम्म करिब ८३, स्याफ्रुबेसीदेखि बेत्रावतीसम्म ६५, बेत्रावतीदेखि मलेखुसम्म २९ र मलेखुदेखि देवघाटसम्म करिब २३ किलोमिटर प्रतिघण्टाको बहाव गति रहेको प्रारम्भिक अध्ययनले देखाएको छ।

२० अर्ब लिटर पानी, करिब २ करोड टन डेब्रिस

विश्लेषणअनुसार बाढीमा थपिएको पानीको मात्रा करिब २ करोड घनमिटर अर्थात् २० अर्ब लिटर रहेको अनुमान छ। तर बाढीको विनाशकारी प्रभाव पानीको मात्राका कारण मात्रै नभई त्यसले बोकेर ल्याएको ठूलो परिमाणको डेब्रिसका कारण अझ बढेको देखिन्छ।

ढुङ्गा, माटो, लेदो, काठ, गिट्टी र बालुवासहितको डेब्रिस करिब २ करोड टन अर्थात् करिब १ करोड घनमिटर रहेको प्रारम्भिक अनुमान गरिएको छ।

बाढीपछि नदीको भू–आकृतिमा समेत ठूलो परिवर्तन आएको देखिएको छ। नदीको पुरानो सतहको तुलनामा तल्लो तटीय क्षेत्रमा पिँधको सतह कम्तीमा २ मिटर र माथिल्लो तटीय क्षेत्रमा करिब ८ मिटरसम्म माथि उठेको अनुमान गरिएको छ। केही स्थानमा योभन्दा बढी परिवर्तनसमेत देखिएको छ।

स्थानीय तटीय क्षेत्रमा नदीका दुवै किनारको ‘डिपोजिट जोन’ मा करिब १५ मिटरसम्म लेदो तथा डेब्रिस थुप्रिएको पाइएको छ। तल्लो तटीय क्षेत्रमा पनि २ देखि ८ मिटरसम्म डेब्रिस जमेको प्रारम्भिक अध्ययनमा उल्लेख छ।

साँघुरा खोँचमा केन्द्रित भयो बाढीको ऊर्जा

बाढीको ‘हाई फ्लड लेभल’ अर्थात् उच्च बाढी सतह नदीको चौडाइ र स्थानीय भू–आकृतिअनुसार फरक–फरक देखिएको छ। केही स्थानमा बाढीको सतह ९० देखि १५० मिटरसम्म माथि पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

साँघुरा खोँचमा बाढीको ऊर्जा अत्यधिक केन्द्रित भएको र नदी फराकिलो तथा तल्लो तटीय क्षेत्रमा प्रवेश गर्दा उच्च बाढी सतह करिब २० देखि ३० मिटरसम्म पुगेको देखिएको छ।

विशेषगरी करिब १० डिग्री ढलान भएका क्षेत्रमा डेब्रिस प्रवाह अत्यन्त शक्तिशाली रहेको विश्लेषणमा उल्लेख छ। ठूलो परिमाणमा बोल्डर तथा चट्टान बोकेको प्रवाहले साँघुरा खोँचलाई ‘बन्दुकको नली’ जस्तो प्रभावकारी बहाव मार्ग बनाउँदा वेग र विनाशकारी क्षमता थप बढेको अनुमान गरिएको छ।

८० हजार घनमिटर प्रतिसेकेन्डसम्म ‘पिक डिस्चार्ज’ को अनुमान

इन्जिनियरिङ दृष्टिले हेर्दा बाढीका क्रममा करिब ३० मिटरसम्म गहिरो बहाव तहमा अत्यधिक ऊर्जा रहेको अनुमान गरिएको छ। प्रारम्भिक विश्लेषणअनुसार अधिकतम बहाव अर्थात् पिक डिस्चार्ज करिब ५० हजारदेखि ८० हजार घनमिटर प्रतिसेकेन्डसम्म पुगेको हुनसक्ने अनुमान गरिएको छ।

बाढीले करिब ३ मिटरसम्म आकारका ठूला बोल्डरसमेत बगाएको पाइएको छ। त्यस्ता बोल्डरको तौल करिब २५ टनसम्म हुने र तीव्र गतिमा बग्दा तिनले अत्यधिक गतिज ऊर्जा बोकेको विश्लेषण गरिएको छ।

प्रारम्भिक गणनाको उदाहरणका रूपमा यस्ता ठूला चट्टानको प्रभाव करिब ३ मेगाजुलसम्मको ऊर्जा बराबर हुनसक्ने अनुमान गरिएको छ। यही कारण जलविद्युत आयोजनाका बाँध, पुल, भवन तथा नदी किनारका अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको विश्लेषण छ।

‘सामान्य बाढी’ भन्दा फरक प्रकृतिको घटना

समग्र प्रारम्भिक विश्लेषणले भोटेकोशीमा आएको घटना सामान्य बाढी मात्र नभई हिमपहिरोबाट उत्पन्न उच्च ऊर्जा भएको ‘डेब्रिस फ्लो इम्प्याक्ट’ अर्थात् ढुङ्गा, माटो र अन्य सामग्रीसहितको तीव्र बहावको प्रभाव भएको देखाएको छ।

यस्तो घटनाको वास्तविक प्रभाव बुझ्न पानीको मात्रा मात्र अध्ययन गरेर पर्याप्त नहुने प्राविधिक विश्लेषणमा उल्लेख छ। बहावको गति, नदीको ढलान, भू–आकृति, डेब्रिसको मात्रा, बोल्डरको आकार तथा नदीको वहन क्षमतामा आएको परिवर्तनलाई एकीकृत रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ।

यद्यपि, प्रस्तुत तथ्य तथा परिमाणहरू १६ दिनको स्थलगत निरीक्षण र अध्ययनबाट निकालिएको प्रारम्भिक प्राविधिक अनुमान भएकाले विस्तृत वैज्ञानिक तथा इन्जिनियरिङ अध्ययन, थप तथ्यांक र मापनपछि मात्र अन्तिम निष्कर्षमा पुग्न सकिने देखिन्छ।

Er. Shri Ram Neupane

Masters Degree in Water Resources Engineering (2004) Pulchowk  Campus