काठमाडौं । तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य एवं इन्जिनियर श्रीराम न्यौपानेले चीनको सिचुआन प्रान्तमा भूकम्पपछिको पुनर्निर्माणको अवलोकन गर्दै नेपालले विपद् व्यवस्थापन र पुनर्निर्माणका क्षेत्रमा महत्वपूर्ण पाठ सिक्नुपर्ने बताएका छन्।
सन् २००८ मे १२ मा चीनको सिचुआन प्रान्तमा गएको ८.० म्याग्निच्युडको विनाशकारी वेनछुआन भूकम्पबाट भएको क्षतिपछिको पुनर्निर्माण क्षेत्रको अवलोकनपछि न्यौपानेले पुनर्निर्माण भनेको भत्किएका संरचना बनाउनु मात्र नभई भविष्यमा हुन सक्ने विपद्को जोखिम न्यूनीकरण गर्ने क्षमता विकास गर्नु पनि भएको बताएका हुन्।
चीनको पुनर्निर्माण अनुभवलाई उल्लेख गर्दै उनले राष्ट्रिय समन्वय, एकीकृत नेतृत्व, स्पष्ट जिम्मेवारी, समयबद्ध कार्ययोजना, पर्याप्त स्रोत परिचालन, आधुनिक प्रविधि र भूकम्प प्रतिरोधी इन्जिनियरिङलाई एकीकृत रूपमा अघि बढाउँदा विपद्पछिको पुनर्निर्माणलाई विकास र आर्थिक रूपान्तरणको अवसरमा बदल्न सकिने बताएका छन्।
सन् २००८ को सिचुआन भूकम्पमा करिब ६९ हजार मानिसले ज्यान गुमाएका थिए भने लाखौँ परिवार प्रभावित भएका थिए। चीनले तीन वर्षभित्रै पुनर्निर्माण अभियान सम्पन्न गर्दै त्यसलाई विकास र आधुनिकीकरणसँग जोडेको अनुभवबाट नेपालले सिक्नुपर्ने उनको भनाइ छ।
न्यौपानेले सन् २०१५ अप्रिल २५ मा गएको ७.८ म्याग्निच्युडको गोरखा भूकम्पको अनुभवसमेत स्मरण गरेका छन्। उक्त भूकम्पका क्रममा आफू मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्यका सिलसिलामा परिवारसहित तातोपानी पुगेको र भूकम्पको केन्द्रविन्दु नजिकैको खासा नाका क्षेत्रमा चार दिनसम्म सम्पर्कविहीन अवस्थामा फसेको उनले बताएका छन्।
त्यस्तै, गत भदौ १० गतेको बाढीपछि भोटेकोशी–त्रिशूली क्षेत्रमा सुरुङभित्र फसेका नागरिकको जीवनरक्षाका लागि १६ दिनसम्म उद्धार कार्यमा संलग्न रहँदाको अनुभव पनि उनले आफ्नो जीवनको अविस्मरणीय अध्यायका रूपमा उल्लेख गरेका छन्।
एक इन्जिनियर र जनप्रतिनिधिका रूपमा विपद्का प्रत्यक्ष अनुभवले पुनर्निर्माणको वास्तविक महत्व बुझाएको उल्लेख गर्दै न्यौपानेले नेपाल र चीनको भौगोलिक, आर्थिक तथा संस्थागत अवस्था फरक भएकाले चीनको मोडेल जस्ताको तस्तै लागू गर्न नसकिने तर त्यसबाट महत्वपूर्ण सिकाइ लिन सकिने बताएका छन्।
उनले नेपालले अब पुनर्निर्माणको प्रगति प्रतिशतमा मात्र नभई निर्माण गरिएका संरचनाको सुरक्षा, गुणस्तर, दिगोपन र भविष्यका विपद् सामना गर्ने क्षमताका आधारमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन्।
न्यौपानेले औँल्याएका पुनर्निर्माणका छ प्रमुख आधार
1. एकीकृत नेतृत्व र स्पष्ट जिम्मेवारी: सबै निकायबीच प्रभावकारी समन्वय र उत्तरदायित्व सुनिश्चित गर्ने।
2. समयमै निर्णय र कार्यान्वयन: योजना निर्माणदेखि सम्पन्नतासम्म समयको पालना गर्ने।
3. वैज्ञानिक इन्जिनियरिङ र आधुनिक प्रविधि: जोखिम मूल्याङ्कनमा आधारित सुरक्षित तथा गुणस्तरीय निर्माण गर्ने।
4. गुणस्तरमा सम्झौता नगर्ने कार्यसंस्कृति: लागत र समयसँगै संरचनाको टिकाउपन तथा सुरक्षालाई प्राथमिकता दिने।
5. स्थानीय अर्थतन्त्रको पुनरुत्थान: पुनर्निर्माणलाई रोजगारी, उत्पादन, सीप विकास र आर्थिक आत्मनिर्भरतासँग जोड्ने।
6. नतिजामुखी जवाफदेहिता: खर्च भएको बजेटभन्दा त्यसबाट प्राप्त वास्तविक सार्वजनिक प्रतिफललाई आधार बनाउने।
उनले विपद्पछिको पुनर्निर्माणमा खर्चको अंकभन्दा निर्माणको गुणस्तर र अस्थायी समाधानभन्दा दीर्घकालीन सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
भत्किएका संरचना पुनः बनाउन सकिन्छ, गुमेको सम्पत्ति फेरि आर्जन गर्न सकिन्छ, तर गुमेको जीवन कहिल्यै फर्काउन सकिँदैन,’ न्यौपानेले भनेका छन्।
उनले सुरक्षित निर्माणलाई वास्तविक विकासको पहिलो सर्त र विपद् प्रतिरोधी समाज तथा पूर्वाधारलाई समृद्धिको आधारका रूपमा व्याख्या गरेका छन्।
चीनको सिचुआन प्रान्तको राजधानी छेङ्दुबाट आफ्नो धारणा सार्वजनिक गर्दै सांसद न्यौपानेले ‘Build Back Better, Build Back Safer, Build Back Stronger’ को अवधारणासहित भविष्यका विपद्सँग जुध्न सक्ने नेपाल निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।








