काठमाडौँ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का ९ कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ।
मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुली गरी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा विभागीय प्रमुखहरूको हेरफेर गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
त्यस्तै, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशकमा सरुवा गरिएको छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहसचिवमा सरुवा गरिएको छ।
यसैगरी, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत ५ जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापना गरिएको छ।










