कोरोना संक्रमितलाई चाहिने औषधीमै कालोबजारी , २४ पर्ने औषधी १ लाख २० हजारमा बिक्री

  • ख-
  • ख+

काठमाडौं । कोरोनाभाइरस संक्रमितलाई दिइने औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धराबाट एक जनालाई पक्राउ गरेको छ।

२४ हजार रुपैयाँ पर्ने रेम्डेसिभिर औषधी १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले गोरखाका रफिक मियाँलाई पक्राउ गरेको हो।

गोरखा आरुघाट गाउँपालिका-४ का २५ वर्षीय मियाँ काठमाडौं टोखा बस्थे।

महानगरीय अपराध महाशाखाका अनुसार उनी खुला रूपमा औषधी बिक्री गरिरहेका थिए।

उनले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेको खुलेको छ।

महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार सेवक फर्माका सञ्चालक दीपक ढकाल फरार छन्।

रेम्डेसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ। यसका लागि स्वास्थ्य मन्त्रालयको अनुमति चाहिन्छ।

उक्त फर्माले त्यो औषधी कसरी ल्यायो भन्ने खुल्न बाँकी रहेको पंगेनीले बताए।

‘एउटा प्याकेटमा ६ वटा सेट हुन्छ, त्यसको मूल्य २४ हजार हो,’ पंगेनीले भने, ‘त्यो औषधीलाई १ लाख २० हजार रुपैयाँ लिएर बेचिरहेको पाइयो।’

फरार ढकालको खोजी भइरहेको उनले बताए।

पक्राउ परेकालाई कालोबजारी ऐन, संक्रामक रोग ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।

जहाँ पायो त्यहीँ नपाइने उक्त औषधी के कसरी उक्त फर्मामा पुर्‍याइयो र त्यसमा क-कसको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको महाशाखा मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।
(सेतोपाटी )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्