शिक्षा, सभ्यता र समाजको कमजोरीलाई जुरुक्क उठाउने अभिभारा बोक्नुभएका आदरणीय शिक्षकहरूको भूमिका राष्ट्रका लागि अतुलनीय छ। शिक्षण केवल पाठ्यक्रम भट्याउनु वाचन मात्र होइन, बरु जटिल विषयवस्तुलाई व्यावहारिक प्रयोगमा ढालेर विद्यार्थीको क्षमता उजागर गर्ने कर्तव्यनिष्ठा हो। विन्स्टन चर्चिलले भनेझैँ, “म सधैँ सिक्न चाहन्छु, तर मलाई सिकाएको सधैँ मन पर्दैन”। यसको अर्थ, शिक्षणको शैली प्रभावकारी हुनुपर्छ भन्ने नै हो।
१. पढाउनु, बुझाउनु र सिकाउनु बीचको भिन्नता
पढाउनु, बुझाउनु र सिकाउनु यी तीन शब्दमा ठूलो भिन्नता छ। केवल पाठ्यपुस्तकका पानाहरू सकाउनु र आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु ‘पढाउनु’ हो। विषयवस्तुलाई गहिराइमा पुगेर विद्यार्थीलाई सक्रिय बनाउनु ‘बुझाउनु’ हो।जब मन, मस्तिष्क र सीपलाई जोडेर व्यावहारिक क्रियाकलापमार्फत ज्ञानलाई आत्मसात् गराइन्छ तब मात्र वास्तविक ‘सिकाइ’ सम्भव हुन्छ। सिर्जनात्मक सिकाइका लागि शिक्षकले मुखले मात्र होइन, हृदयदेखि सिकाउनुपर्छ ।यसरी सिकाएमा विद्यार्थीको शारीरिक र मानसिक पक्षलाई सन्तुलित गरी दीर्घकालीन परिणाम दिन्छ।
२. सिकाइको मनोवैज्ञानिक र प्रारम्भिक आधार
सिकाइ एक मानसिक प्रक्रिया हो, शारीरिक मात्र होइन। बालबालिकालाई ‘क’ वा ‘ख’ सिकाउनु अघि उनीहरूलाई गोला, टेढा-मेढा रेखा वा चित्रहरू कोर्न प्रेरित गर्नुपर्छ । यस प्रकारका प्रारम्भिक चरणहरूले मस्तिष्कमा आकारको पृष्ठभूमि तयार गर्छन् र सिकाइलाई दिगो र अर्थपूर्ण बनाउँछन् । तयारीबिनाको ‘बासी ज्ञान’ पस्कँदा विद्यार्थीको जिज्ञासा, सिर्जनात्मकता र तर्कशक्ति दमन हुन्छ। शिक्षा केवल जानकारी हस्तान्तरण होइन, बरु बालबालिकाको मस्तिष्कसँगको जीवन्त संवाद हो। अल्बर्ट आइन्स्टाइनले भनेझैँ …शिक्षा तथ्यहरूको सङ्ग्रह होइन, बरु सोच्न सक्ने क्षमताको विकास गर्ने कला हो।’
३. शिक्षकको तयारी र उत्तरदायित्व
विद्यार्थी असफल हुनु भनेको शिक्षक पनि असफल हुनु हो। शिक्षकले सधैँ आफ्नो अन्तःचेतनालाई सोध्नुपर्छ ‘म सिकाइका लागि कति तयार छु?’ पर्याप्त तयारीबिनाको शिक्षण जगबिनाको बिरुवा जस्तै अस्थिर हुन्छ। शिक्षकले स्वयंलाई मानसिक अभ्यास गराइरहनुपर्छ र उनीहरूको हरेक सोच र कार्य विद्यार्थीको हितमा केन्द्रित हुनुपर्छ। कक्षामा पुगेर ‘जे पनि गर्छु’ भन्नु अहंवादी चरित्र हो; पाठ्यपुस्तक रटाउनुको सट्टा त्यसलाई विशिष्टीकरण गरेर आत्मानुभूति दिलाउनु नै वास्तविक सिकाइ हो।
४. एकाग्रता र समर्पणको शक्ति
बिल गेट्सका अनुसार सफलताको रहस्य “Focus” (एकाग्रता) मा छ। शिक्षकले आफ्नो पेसामा पूर्ण समर्पण र एकाग्रता राख्दा मात्र त्यसले करियरको मजबुत जग बसाल्छ र अन्ततः ‘सन्तोषं परमं सुखम्’ प्राप्त हुन्छ। एकाग्रता बिनाको पेसा केवल एउटा ‘शौक’ मात्र बन्न सक्छ, जसले समाजलाई पनि ध्वस्त पार्न सक्छ। शिक्षाशास्त्री पाउलो फ्रेरेले जोड दिएझैँ, आलोचनात्मक चेतनाको विकास र सामाजिक न्याय स्थापना गर्ने शिक्षा पद्धतिले मात्र व्यक्ति र समाजको वास्तविक रूपान्तरण गर्न सक्छ।
५. कक्षाकोठाको जीवन्त अभ्यास
कक्षामा नयाँ शब्दहरू सिकाउँदा शिक्षक आफैँले अर्थ भनिदिनु भन्दा विद्यार्थीलाई नै खोज्न लगाएर बोर्डमा लेख्न लगाउनु प्रभावकारी हुन्छ। सही अनुमान गर्ने विद्यार्थीलाई दिइने ‘स्याबासी’ ले उनीहरूमा उत्साह जगाउँछ। शिक्षकले कक्षामा कम बोल्ने र विद्यार्थीलाई सिक्ने अवसर बढी दिने बानी बसाल्नुपर्छ। तयारीबिना कक्षामा प्रवेश गर्नु आफ्ना लागि मात्र होइन, हजारौँ विद्यार्थीको ऊर्जाशील आकांक्षालाई धुलोमा मिलाउनु हो ।
६. वर्तमान चुनौती
आजको शिक्षा प्रणालीले युवाहरूमा शान्ति र संयमको सट्टा छटपटी र बेचैनी बढाएको छ। कक्षा ११ र १२ पूरा गरेपछि स्वदेशमा भविष्य नदेखेर विदेश पलायन हुने प्रवृत्ति डरलाग्दो छ। मातृभूमिमा जन्मिएका लाखौँ बालबालिकालाई प्रदान गरिएको अव्यवस्थित सिकाइ नै यसको मुख्य कारण हो। स्ट्यानफोर्ड कलेजका डिन रोबर्ट लीका अनुसार, असल शिक्षकमा समानुभूति र आजीवन सिक्ने जोस हुनुपर्छ।
निष्कर्ष
अन्ततः ‘ज्ञानको सही प्रयोग नै बुद्धि हो’ । शिक्षकले आफ्नो पेसालाई क्षणिक प्रदर्शन मात्र नबनाई जीवन्त र सिर्जनात्मक अभ्यासका रूपमा लिनुपर्छ। समाजको यो घाउमा मलम लगाउने प्रथम जिम्मेवारी र अहम् भूमिका शिक्षककै हो।









