बाँकेमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु

  • ख-
  • ख+

बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना बाँकेका र एक जना बर्दियाका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनी त्यसको पर्सिपल्ट भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१० की ३८ वर्षकै अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान साढे चार बजे मृत्यु भएको छ ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ६४ वर्षीय पुरुषको बेलुकी ८ बजे र नेपालगञ्ज उपमहानगरपालिका १२ बाँकेका ६७ वर्षीय पुरुषको शुक्रबार अपराह्न पौने पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी बर्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले जानकारी दिए ।

योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७४ पुगेको छ । बाँकेभन्दा बाहिर जिल्लाका तर बाँकेमा ज्यान गुमाउनेको संख्या भने १३१ पुगेको छ ।(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्