तिहार

  • ख-
  • ख+

सुखमय पारी सब संसार
आयो रसिलो चाड तिहार
बन्दछ मानू सबको काम
खुशि छन् राजा रैति तमाम ।
अन्न छ सबका घर घर घर पूर्ण
छैन कसैको पेट अपूर्ण
काग र डुलुवा कुत्तासम्म
भात नहेर्ने यो छ अचम्म।
घर घर सबका भाँती भाँती
झकमक बल्छन् दीपक ताँती
झिलिमिली झिलिमिली वारी पारी
यो छ मजाको रमिता भारी।
जय जय लक्ष्मी आउ आउ
स्थिर गर हाम्रा घरमा पाउ
भन्दै हिन्दू सब नरनारी
गर्छन् पूजा भवन शिंगारी।
खेती पाती पूर्ण तयारी
ढकमक फूलले ती फूलबारी
हँसिला मुखलका सब नर नारी
सब तिर लक्ष्मी पूजा भारी।
वरपर सबका दाजु भाइ
बटुलिन थाले टीकालाई
हिँड सब जाउँ बहिनीबाट
पहिरौं टीका पारौं ठाँट।
सब सिद्ध्याई टीकाटाला
पहिरि गलामा लामा माला
चिजबिज खाउँ चाड मनाउँ
बेर नलाउँ जाउँ जाउँ।।
(कविशिरोमणि लेखनाथ पौड्याल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्