काठमाडौं । काठमाडौंको सिंहदरबार गेटमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी अनामनगर बस्ने ३२ वर्षीया आस्था सुब्बालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बागबजार स्थित काठमाडौं मोडल अस्पतालमा हिजो साँझ पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
सुब्बा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत थिइन् । कार्यालय सकाएर घर जाँदै गरेको उनलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना भने घाइते भएका छन् । महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा रानाको उपचार भइरहेको छ । (नेपाल प्रेस))








