दमौली, साउन १२ — व्यास नगरपालिकाले पराशर मार्ग निर्माण कार्यमा भएको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निर्माण व्यवसायीलाई सात दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको छ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको व्यास नगर कार्यपालिकाको २४३औँ नियमित बैठकले व्यास नगरपालिका–७, ९, १० र ११ मा निर्माणाधीन पराशर मार्गको कार्यप्रगतिको समीक्षा गर्दै सार्वजनिक खरिद (पन्ध्रौँ संशोधन) नियमावली, २०८३ बमोजिम निर्माण व्यवसायीलाई सात दिनभित्र नगरपालिकामा सम्पर्क गर्न निर्देशन दिएको हो।
बैठकले निर्माण व्यवसायीलाई हालसम्मको कार्यप्रगति प्रतिवेदन तथा बाँकी निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने लिखित प्रतिबद्धता (कमिटमेन्ट) समेत पेश गर्न भनेको छ।
बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रम आगामी साउन २९ गते बिहान ११ बजे नगर सभाहलमा सरोकारवालाहरूको उपस्थितिमा आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रमको आवश्यक व्यवस्थापन गर्न कार्यालयलाई निर्देशन समेत दिइएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक खरिद नियमावलीको नियम १४८ बमोजिम निर्धारण गरिएको कामदारको ज्याला, निर्माण सामग्री ढुवानी तथा मेसिन–उपकरणको प्रस्तावित भाडादर स्वीकृत गरिएको छ।
बैठकले नगरपालिका क्षेत्रभित्र निर्माण कार्य गर्ने निर्माणकर्मीहरूको दर्ता तथा सूचीकृत सम्बन्धी कार्यविधि, २०८३ पारित गर्नुका साथै व्यास नगरपालिका लोक कल्याणकारी विज्ञापन वितरण सम्बन्धी कार्यविधि, २०८० र व्यास नगरपालिका भवन निर्माण मापदण्ड, २०८२ संशोधन गर्ने निर्णय पनि गरेको छ।
यस्तै, वडा नं. ११ स्थित विद्या पोल्ट्री एवं कृषि फर्म प्रा.लि. को मागअनुसार कृषि प्रयोजनका लागि खरिद–बिक्री हुने जग्गाको रजिस्ट्रेशनमा प्रचलित कानुनबमोजिम लाग्ने राजस्वमा नियमानुसार छुट प्रदान गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।
यसैबीच, बैठकले साउन १ गते सम्पन्न २४२औँ नगर कार्यपालिका बैठकका निर्णयहरूको समेत समीक्षा गरेको व्यास नगरपालिकाका प्रवक्ता सरेश थापाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।










