तनहूँ १ मा रामचन्द्र पौडेललाई चुनाव जिताउन नेकपा एमाले र जोशी समुह सक्रिय !

  • ख-
  • ख+

गोविन्दराज जोशीले कांग्रेसको बढिमा १० हजार मत काटेपनि गठबन्धनलाई उछिन्न नेकपा एमालेका उमेदवार राना गारो पर्नेछ , कार्यकर्ता तथा नेताहरुको रामचन्द्र पौडेलप्रति हजारौ असन्तुष्टि भएपनि अन्तिममा जित रामचन्द्र पौडेल कै हुनेछ किनकी पौडेल अब देशको प्रधानमन्त्री भनेर फ्याँकेको तुरुपले अचम्मको काम गर्ने तनहूँ कांग्रेसको अनुमान रहेको छ ।

तनहूँ । गठबन्धन सरकारले निर्वाचन घोषणा गर्नु अगावै देशभर जस्तै तनहूँमा बिशेषगरि नेपाली कांग्रेसका नेतादेखि कार्यकर्तासम्मले तनहूँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उमेदवारको रुपमा वरिष्ठ नेताले आफुलाई छोड्नुपर्ने भनि रोईलो गरिरहेका थिए । वरिष्ठ नेता पौडेलको ईच्छा सामु करिब २, ३ दर्जन जति आकांक्षीहरुले टिकट पाउने आशा गर्नु आकाशको फल आँखा तरि मर भनेको जस्तै थियो तैपनि धुर्की र बार्गेनिगंको आशले तनहूँ कांग्रेसको क्षेत्र नं १ को उमेदवारी घोषणा निकै रोचक बन्नपुग्यो ।

एकातिर तनहूँ कांग्रेसमा वार्गेनिगं, धुर्की अनि वरिष्ठ नेता पौडेल निर्वाचन घोषणा अगावै चुनाव प्रचारको शैलीमा घरदैलो, टोल छरछिमेक चाहारिरहनुभएको थियो भने जिल्लाको अर्को तर्फ अघिल्लो प्रदेश तथा संघिय निर्वाचनको ठुलो शक्ति नेकपा एमाले रामचन्द्र पौडेललाई पुन पराजित गर्नसक्ने आफ्नो उमेदवार कस्लाई बनाउने खोजि गरिरहेको थियो । कसैले २०७४ मा वरिष्ठ नेता पौडेललाई अप्रत्याशित हार चखाउन सफल हाल नेकपा एस् का नेता कृष्णकुमार श्रेष्ठ किसान पुनः एमालेमा फर्केर चुनाव लड्ने चर्चा चलाएका थिए भने कसैले पुर्व आईजिपि सर्वेन्द्र खनाल आउने चर्चा चलाएका थिए । नेकपा एस् का नेता किसान बारा जानु र पुर्व आईजिपि खनालले काठमाण्डौ रोजेपछि पनि नेकपा एमालेले नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई हराउने उर्पयुक्त पात्रको खोजी रोकिएको थिएन । तनहूँ कांग्रेसका अधिकांशको कामना थियो नेकपा एमालेले कारवाहीमा परेका आफ्ना पुराना नेता गोविन्दराज जोशीलाई उमेदवार बनाओस् र २०७४ को झै उमेदवारी खारेज गर्न पाईयोस् तर नेकपा एमालेले त्यसो गरेन र पुराना कम्युनिष्ट नेता एकबहादुर रानालाई रामचन्द्र पौडेल विरुद्धको उमेदवार बनायो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई वरिष्ठ नेता पौडेल विरुद्धको सर्वसम्मत उमेदवार बनाउने योजना काठमाण्डौबाट दमौलीसम्म आईपुग्दा सफासडकको होटल लेट मी ईनको चियामा बिस्कुट गले झै गलेपछि सबैको नजर नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव विश्व बास्तोलातिर नसोझिएको होईन तर पार्टी छोड्नु अघिसम्म पौडेलसगको सुमधुर सम्बन्धले एमाले र जोशी समुहले बास्तोलालाई विश्वास गर्ने बाटो नै बनेन ।

केहि पार्टीगत, केहि स्वतन्त्र, नेकपा एमालेका एकबहादुर राना अनि पौडेल हराउ अभियानमा होमिनुभएका अर्का स्वतन्त्र उमेदवार गोविन्दराज जोशी र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उमेदवारीले तनहूँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचन रमाईलो हुने छाँटकाटका बिच धेरैको मनमा एउटै अनुमान थियो यसपटक पनि रामचन्द्र पौडेलले जोशी विरुद्ध उजुरी दिनुहुनेछ र जोशीको उमेदवारी खारेज गर्नुहुनेछ ।

२०७४ को निर्वाचनमा जोशीको उमेदवारी खारेजी पश्चात जोशी समुहको सबै भोट सूर्य चिन्हमा गएको अनुमान गरेर २०७९ मा जोशीको उमेदवारी खारेजको निवेदन नदिएसगै तनहूँ कांग्रेसले सन्तोषको सास फेरेको छ र अनुमान गरेको छः ”यसपाली सुका अर्थात ३६४ कांग्रेस १ दिन सूर्यमा भोट हाल्नेहरुले भोट जोशीलाई हाल्नेछन् , गोविन्दराज जोशीले गठबन्धनको बढिमा १० हजार मत काटेपनि रामचन्द्र पौडेललाई उछिन्न नेकपा एमालेका उमेदवार राना गारो पर्नेछ , कार्यकर्ता तथा नेताहरुमा रामचन्द्र पौडेलप्रति हजारौ असन्तुष्टि भएपनि अन्तिममा जित रामचन्द्र पौडेल कै हुनेछ किनकी पौडेल अब देशको प्रधानमन्त्री भनेर फ्याँकेको तुरुपले अचम्मको काम गर्नेछ । ”

स्थानिय निकायको निर्वाचनको नतिजामा गठबन्धनको मत धेरै अगाडि भएपछि ढुक्क भएको कांग्रेस, घरदैलौमा जाँदा असन्तुष्टहरुको आवाज सुनेर हौसिएको जोशी समुह र कांग्रेसको झगडामा एमाले आफ्ना उमेदवार एकबहादुर रानालाई चिठ्ठा पार्ने ध्याउन्नमा रहेको छ भने रामचन्द्र पौडेललाई अब विश्राम दिनुपर्छ भन्ने पक्षले नेकपा एमाले र जोशी समुहलाई मिलाउन नसकेर एक्ला एक्लै अगाडि बढेपछि कांग्रेसलाई हाँईसन्चो भएको छ र जताततै चर्चा चलिरहेको तनहूँ १ मा रामचन्द्र पौडेललाई चुनाव जिताउन एमाले र जोशी समुह सक्रिय छन् किनकी जोशी समुह र नेकपा एमालेले मिल्न नसकेपछि कांग्रेसले भोटै माग्नु पर्दैन त्यसै चुनाव जित्छ ।

”गोविन्दराज जोशी र नेकपा एमालेका एकबहादुर रानाबिच गठबन्धन नभए कांग्रेसले सजिलै चुनाव जित्ला त ? ” भनि प्रश्न गर्दा कांग्रेसका एकजना स्थानिय नेता नाम प्रकाशित नगर्ने शर्तमा भन्नुहुन्छ ”निर्वाचन भनेको यहि त रहेछ , सिद्धान्त सिद्धान्त गोलि मारो कुटनीति खेल खेलेर त रहेछ चुनाव जित्ने , अघिल्लोपटक जिल्लाका ६ वटै सिट गुमाएको कांग्रेसले खेल खेलेको छैन होला ? त्यसैले तपाई ढुक्क भएर लेखिदिनुस् यसपटक रामचन्द्र पौडेललाई तनहूँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसले होईन नेकपा एमाले तनहूँ र गोविन्दराज जोशी समुहले चुनाव जिताउदैछन् ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?