सर्वाधिक मतान्तरसहित चुनाव जित्नेमा रवि लामिछाने पहिलो

  • ख-
  • ख+

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यही निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ३४ हजार ३१२ मतान्तरले चुनाव जितेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्यमन्त्री उमेश श्रेष्ठलाई भारी मतान्तरसहित पराजित गरेका हुन् ।
यो क्षेत्रमा कुल ८४ हजार ३१५ मत खसेको थियो । त्यसमध्ये लामिछानेले ४९ हजार ३०० अर्थात् ५८.४७ प्रतिशत मत ल्याएर जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राज्यमन्त्री श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका छन् ।
लामिछानेपछि सर्वाधिक मतान्तरले चुनाव जित्नेमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल छन् । उनले ३४ हजार ३१२ मतान्तरले जितेका छन् । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले जितेका छन् । उनले ०७४ मा उनै अधिकारीलाई २८ हजार ८४२ मतान्तरले जितेका थिए । अधिकारीले यसपटक २६६ मतान्तर घटाएका छन् । ओलीले ५२ हजार ३१९ मत पाउँदा अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि २५ हजार २२९ मतान्तरले चुनाव जितेका छन् । उनले रोल्पाबाट नेकपा एमालेका पूर्ण बुढामगरलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । पुनले ४१ हजार ७१४ मत पाए भने बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन् । (कान्तिपुर दैनिक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?