कविता: हामी नकचराहरू !

  • ख-
  • ख+

बस्छौँ युरोपका देशहरूमा
बस्छौँ अमेरिका जस्तो देशमा
अस्ट्रेलिया देखी क्यानडासम्म
जान्छौँ नेपाल र लाग्छौँ पछि पछि
तिनै देश माराहरूको,
तिनै जनता माराहरूको,
तिनै भात माराहरूको,
मान्छेका घाँटी रेट्नेहरूको
टांसिन्छौं जुका जस्तै तिनै सँग
किचिक्क हाँसेर मार्छौं सेल्फी
हाल्छौँ फेसबुक, ट्विटर
र सामाजिक सञ्जालहरूमा !
गाउँछौ तिनकै भजन
जोड्छौँ विशेषणका लम्बेतान कथाहरू
बनाउँछौ कसैलाई ”बा”
बनाउँछौँ कसैलाई ”दाई”
बनाउँछौ कसैलाई ”राजनेता”
पुकार्छौं तिनैलाई ”राजा ” र ”प्रभु”
उतार्छौं आरती तिनैको
चुनाव हुँदै गर्दा पुग्यौँ
र भन्यौँ हजुरलाई जिताउन आएको
हजुरको जीत पक्का छ
कसले सक्छ हजुरलाई हराउन
चाकडी र चाप्लुसीको नग्न रूप
यता पनि, उता पनि, जता पनि
चुनाव सकियो,
हार जीतको नतिजा आउँदै गर्दा
फेरी जित्नेहरूको ठेगाना
र फोन नम्बरहरू खोजी खोजी
पुग्यौँ अबिर खादा माला बोकेर
गणेश बनेर परिक्रमा गर्न
फोन भरी फोटोहरू छन्
कुन बन्छ प्रधानमन्त्री
कुन बन्छ मन्त्री
कुराइ त्यसैको छ अब
पोस्ट गर्न ति फोटोहरु
दिन बधाई हरु !
जो बने पनि के भो र
जता पनि पुगेकै छौं
ढाड भाँचिन्जेल नुगेकै छौं
कसैलाई पर्यटनदुत चाहिया छ रे
कसैलाई बाणिज्यदुत र महादूत चाहिया छ रे
कसैलाई म्याद थप्नु छ रे
कसैलाई खुस्काउनु छ रे
कसैलाई आफू बन्नु छ रे
जता पनि गयो
हजुर म त हजुर कै मान्छे भन्नु छ
जसरी होस, जे गरेर होस,
खाइ न पाइ छालाको टोपी लाई बन्नु छ !
यस्ता नकचराहरू को कति रहेछन्
मलाई मात्र यिनको सङ्ख्या गन्नु छ !
तपाईँलाई यी नकचराहरूको बारे केही भन्नु छ ?

( रामप्रसाद खनाल, डिसेम्बर १०, २०२२

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्